Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प–पुटिन भेट भारतले स्वागत, युक्रेनले ‘भूमि साटासाट’ प्रस्ताव अस्वीकार

अर्थ संसार

आइतबार, २५ साउन २०८२, ०८ : २१ मा प्रकाशित

ट्रम्प–पुटिन भेट भारतले स्वागत, युक्रेनले ‘भूमि साटासाट’ प्रस्ताव अस्वीकार

भारतले आगामी अगस्ट १५ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा हुने बैठकलाई स्वागत गर्दै यसले युक्रेनमा जारी युद्ध अन्त्यको सम्भावना बोकेको प्रतिक्रिया दिएको छ।

शनिबार जारी विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले भनेको छ, “अमेरिका र रूसी संघबीच अलास्कामा हुने सहमति भएको बैठकले युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने र शान्तिको संभावना खोल्ने आशा गरिएको छ।” प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि पटक–पटक भनेझैँ, “यो युद्धको युग होइन,” वक्तव्यमा उल्लेख छ।

यसबीच, एनबीसी न्युजले ह्वाइट हाउस युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई अलास्का आमन्त्रण गर्ने विषयमा विचार भइरहेको जानकारी दिएको छ। तर उनको सहभागिता अहिलेसम्म टुंगो लागिसकेको छैन।

ट्रम्पले यसअघि युक्रेन–रूसबीचको सम्भावित शान्ति सम्झौतामा दुवै पक्षले नियन्त्रणमा रहेका केही भूभागको साटासाट हुनसक्ने बताएका थिए। सो प्रस्तावमा पुटिनले २०१४ मा रूसद्वारा कब्जा गरिएको क्रिमिया र सम्पूर्ण पूर्वी डोनबास क्षेत्र युक्रेनले त्याग्नुपर्ने माग राख्न सक्ने संकेत गरिएको छ। यसले लुगान्स्क र डोनेट्स्कका युक्रेन नियन्त्रणमा रहेका भागबाट सेना फिर्ता गर्नुपर्ने हुन्छ।

तर राष्ट्रपति जेलेन्स्कीले भने यस्तो कुनै पनि निर्णय युक्रेनको संविधानविपरीत हुने बताउँदै ‘भूमि साटासाट’ प्रस्ताव अस्वीकार गरेका छन्। उनले भने, “युक्रेनियनहरूले आफ्नो भूमि कब्जाकर्तालाई उपहारमा दिने छैनन्।”

युरोपका प्रमुख नेताहरूले पनि शान्तिको बाटो केवल युक्रेनको सहभागितामा तय हुनुपर्ने र अन्तर्राष्ट्रिय सिमाना बल प्रयोग गरेर परिवर्तन गर्न नपाइनेमा प्रतिबद्धता जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्याण्डका नेताहरू र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले संयुक्त वक्तव्य जारी गर्दै युद्धविराम वा द्वन्द्व कम गर्ने सन्दर्भमै वार्ता सम्भव हुने बताएका छन्।

शनिबार बेलायतका विदेश मन्त्री डेविड लाम्मी र अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले लन्डनमा युक्रेनी तथा युरोपेली नेताहरूसँग भेटेर ट्रम्पको शान्ति प्रस्तावबारे छलफल गर्ने कार्यक्रम छ। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले जेलेन्स्कीलाई फोनमार्फत ट्रम्प–पुटिन भेटअघि प्रस्तावबारे छलफल गरेका छन्।

भारतका पूर्व राष्ट्रिय सुरक्षा परिषद् (एनएसए) उप–सलाहकार पंकज सारनले पनि यो शिखर बैठकमा हुने सम्भावित घटनाक्रमबारे नयाँ दिल्लीले नजिकबाट निगरानी राख्नुपर्ने बताएका छन्। उनका अनुसार, यस बैठकको प्रभाव भारतमा पर्न सक्ने सम्भावना छ।

ट्रम्प र पुटिनबीचको पछिल्लो प्रत्यक्ष भेट २०१९ मा जापानमा भएको जी–२० शिखर सम्मेलनमा भएको थियो। २०१८ मा हेलसिन्कीमा भएको पहिलो द्विपक्षीय शिखर बैठकमा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको निष्कर्षभन्दा पुटिनको पक्ष लिएको देखिँदा आलोचना भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको