अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनअन्तर्गतको डिपार्टमेन्ट अफ डिफेन्स (रक्षा मन्त्रालय) को नाम परिवर्तन गरी अबदेखि डिपार्टमेन्ट अफ वार (युद्ध मन्त्रालय) बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पका अनुसार यो कदम अमेरिकाको “सबैभन्दा शक्तिशाली सैन्य क्षमता” प्रदर्शन गर्ने उद्देश्यले गरिएको हो।
तर, विज्ञहरूले यसरी नाम फेर्ने प्रक्रियाले करदातालाई एक अर्ब डलरभन्दा बढी खर्च पर्न सक्ने चेतावनी दिएका छन्। द इन्डिपेन्डेन्टको रिपोर्टअनुसार पेन्टागनअन्तर्गतका सयौँ निकाय, विश्वभर रहेका सैन्य बेस, आधिकारिक कागजात, स्टेशनरी, डिजिटल प्रणाली तथा सबै संकेत बोर्डहरूमा नयाँ नाम प्रयोग गर्नुपर्ने भएकाले खर्च अत्यधिक बढ्ने देखिन्छ।
खर्चबारे प्रश्न उठाउँदा ट्रम्पले भने, “त्यति धेरै होइन। हामीलाई ब्रान्डिङ कसरी गर्ने भन्ने थाहा छ, अनावश्यक खर्च नगरी,” भनेर पत्रकारलाई जवाफ दिएका छन्।
यो कदम ट्रम्प प्रशासनको सरकारी फजुल खर्च घटाउने वाचा विपरीत आएको हो। यसअघि बाइडेन प्रशासनले २०२६ को रक्षा बजेटमा करिब ५० अर्ब डलर कटौती प्रस्ताव गरेको थियो, जसलाई ट्रम्पले सीमा सुरक्षा र सरकारका विविधता (DEI) कार्यक्रमहरू अन्त्य गर्न प्रयोग गर्ने बताएका थिए।
नाम परिवर्तनलाई समर्थन गर्दै ट्रम्पले भने, “जब यो विभाग युद्ध मन्त्रालयको रूपमा थियो, त्यतिबेला अमेरिकाले ऐतिहासिक विजयहरू हासिल गरेको थियो। सबैलाई त्यो इतिहास मन पर्छ।”
इतिहासमा हेर्दा, दोस्रो विश्वयुद्ध सकिएपछि १९४० को दशकको अन्त्यतिर पेन्टागनको नाम डिपार्टमेन्ट अफ डिफेन्स राखिएको थियो।
नवनियुक्त युद्ध सचिव पिट हेगसेथले Fox & Friends सँगको अन्तर्वार्तामा ट्रम्पको कदमको बचाउ गर्दै भने, “हामीले पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध रक्षा मन्त्रालयमार्फत होइन, युद्ध मन्त्रालयमार्फत जितेका थियौं। राष्ट्रपति भन्नुहुन्छ, हामी केवल रक्षा मात्रै होइन, आक्रमण पनि गर्छौं।”
समर्थकहरूले यसलाई “शक्तिको प्रतीक”का रूपमा हेरेका छन् भने आलोचकहरूले भने यसले करदातामाथि अनावश्यक आर्थिक भार थप्ने चेतावनी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस