Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण सेयर आउँदै

आइतबार, २१ माघ २०७४, १७ : ०१ मा प्रकाशित

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण सेयर  आउँदै

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण सेयर  (आइपिओ) जारी गर्ने भएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न लागेको हो ।

माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण सेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दाले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण सेयर पाउने व्यवस्था गरिएको छ ।

यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।

कम्पनीले सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

 सेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म सेयरमा आवेदन दिन पाउने छन् ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ को काम शुरु भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ ।

यस्तै, गोंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ । कूल २१७ टावरमध्ये अहिलेसम्म १३० टावर निर्माण भइसकेको र अरुको पनि ‘फाउण्डेशन’ को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।तर बिक्री गरिएको उक्त साधारण सेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन ।

कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

कालिका पावरको आइपिओ आजदेखि खुल्ला, कहाँबाट आवेदन दिने ?

सिद्धिखोला जलविद्युत आयोजनामा दुई बैंकले एक अर्ब बढी लगानी गर्ने

युनाइटेड मोदीले कमायो पाँच करोड ४९ लाख

माउण्ट मकालुको हकप्रद सेयर आजदेखि विक्रीमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको