Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा आक्रामक उछाल — औचित्यपूर्ण कि पम्प एण्ड डम्पको खेल?

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, ०८ : १० मा प्रकाशित

नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा आक्रामक उछाल — औचित्यपूर्ण कि पम्प एण्ड डम्पको खेल?

नेपाल रिपब्लिक मिडिया हाउसको सेयर मूल्य पछिल्लो साताभित्र अस्वाभाविक तरिकाले उछालिएको छ। अघिल्लो साता (साउन २२ ) को अन्तमा मूल्य रु. ४६५.३० मा रहेको कम्पनीको सेयर मूल्य ठीक एक सातापछि साउन २९ कम्पनीको सेयरको मूल्य ५४१.३० मा पुगेको छ।

सेयर बजारमा मूल्यको उतार–चढाव सामान्य कुरा हो। कुनै कम्पनीको मूल्य छोटो अवधिमा बढ्नु वा घट्नु बजारको स्वाभाविक गतिविधि मानिन्छ। तर नेपाल रिपब्लिक मिडियाको हकमा मूल्यसँगै कारोबार संख्यामा आएको अस्वाभाविक वृद्धि प्रश्नको विषय बनेको छ।

सामान्यतया सेयर बजारमा "भोल्युम" (कित्ता कारोबार) बढ्नु भनेको लगानीकर्ताको चासो बढ्नु र माग उच्च हुनु भन्ने अर्थ लाग्छ। तर अस्वाभाविक रूपमा भोल्युम अचानक बढ्दा प्रायः यसलाई ‘सेकेन्डरी मार्केटमा खेल’ वा रणनीतिको संकेतका रूपमा बुझिन्छ। केही समूहले ठूलो मात्रामा सेयर किनेर मूल्य र कारोबार दुवैलाई कृत्रिम रूपमा बढाउने, त्यसपछि बजारमा हल्ला फैलाएर नयाँ लगानीकर्तालाई आकर्षित गर्ने, र अन्ततः महँगोमा बेचेपछि नाफा लिने प्रवृत्ति पनि ‘भोल्युम स्पाइक’ को पछाडि रहेको शंका गरिन्छ।


 

वित्तीय विवरणले के भन्छ?

असार मसान्त २०८२ सम्मको अपरिष्कृत वित्तीय विवरणले नेपाल रिपब्लिक मिडियाको ऋण–पुँजी अनुपात ०.२८ छ, जसले कम कर्जा बोकेको संकेत गर्छ। तर, लगानीकर्ताले खोज्ने मुख्य सूचकांक भने अत्यन्त कमजोर छन्।

प्रतिशेयर आम्दानी (EPS) रु. ०.१५ मात्र छ, जुन अघिल्लो वर्षको ०.२१ बाट घटेको हो। यसको अर्थ कम्पनीले आम्दानी गर्न सक्ने क्षमता घटिरहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ रु. ८८.७० मा सीमित छ, जुन अंकित मूल्य रु. १०० भन्दा तल झरेको छ। 

सबैभन्दा गम्भीर पक्ष भनेको रिटेन्ड अर्निङ ऋणात्मक अवस्थामा हुनु हो। अहिले कम्पनीको संचित घाटा रु. ५० करोड ६६ लाख नाघिसकेको छ। जसले गर्दा, कम्पनीले विगतका घाटा पूर्ति नगरी भविष्यमा ठूला लाभांश दिने आधार पक्का गर्न सकेको छैन।

यस अवधिमा कम्पनीले १८ करोड ७ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ। तर, बिक्री खर्च मात्र ८ करोड ७ लाख ७६ हजार पुगेको छ। त्यसपछि बचेको ग्रस इनकम करिब ९ करोड ९९ लाखमा सीमित भएको छ। अघिल्लो वर्षको ग्रस इनकम करिब १२ करोड हाराहारी थियो।

कम्पनीले प्रशासनिक खर्च केही घटाएर ५ करोड २ लाखमा ल्याए पनि अन्तिम नतिजा निकै निराशाजनक रह्यो। अघिल्लो वर्ष २० लाख ७२ हजार नाफा कमाउने कम्पनीले यस वर्ष करपछिको नाफा घटाएर १४ लाख ३८ हजारमा झार्नुपर्‍यो।

बजारमा देखिएको अस्वाभाविक गतिविधि

सेयर मूल्य वृद्धि मात्र होइन, कारोबार संख्या पनि बढेको छ । गत बिहीबार नेपाल रिपब्लिक मिडियाको कुल कारोबार ३,७५,९४२ कित्ताको भएको  थियो।जुन कम्पनीको भइरहेको कारोबार भन्दा धेरै नै रहेको छ। 

बजारमा यस्तो अस्वाभाविक भोल्युम वृद्धि प्रायः 'पम्प एण्ड डम्प' गतिविधिसँग जोडिन्छ। यसमा निश्चित समूहले ठूलो मात्रामा सेयर खरिद गरी मूल्य कृत्रिम रूपमा बढाउँछन्। जब लगानीकर्ताहरू मूल्य बढिरहेको देखेर आकर्षित हुन्छन्, उनीहरूले खरिद गर्छन्। त्यसपछि सुरुवाती खेलाडीहरूले आफ्नो सेयर महँगोमा बेचेर नाफा लिन्छन्। अन्ततः नयाँ लगानीकर्ताले घाटा बेहोर्नुपर्छ।

मूल्य वृद्धि—आधार कि हाइप?

नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ५४० रुपैयाँ नाघ्दा यसको वित्तीय सूचकांकसँग तुलना गर्दा स्पष्ट अन्तर देखिन्छ। EPS करिब शून्य बराबर छ। नेटवर्थ अंकित मूल्यभन्दा तल झरेको छ। रिटेन्ड अर्निङ ऋणात्मक छ। 

यस्ता अवस्थामा सेयर मूल्यमा देखिएको १६ प्रतिशतको उछाल के साँच्चै औचित्यपूर्ण हो? वा बजारमा केही शक्तिशाली खेलाडीले सेयर समातेर मूल्य खेलेको हो?

प्रस्तुत विश्लेषण अध्ययन र जानकारीका लागि मात्र हो, यसैको आधारमा कारोबार नगर्नुहोला

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको