नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको ८औँ फ्रेण्डसिप लन्च हाइक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको दिनको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यामिक विद्यालय, कान्ति भैरब मा.बि. र ओरेन्टल एकेडेमीका स्काउट विद्यार्थीहरुको सहभागितामा भक्तपुरको निलबाराहीमा एक दिने फ्रेण्डसिप लन्च हाइक सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालको उपस्थिति रहेको थियो । उनले यस्ता कार्यक्रमहरुले स्काउटमा सहभागि विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए । साथै उनले भने, स्काउटको माध्यमबाट विद्यार्थीले केवल शैक्षिक ज्ञान मात्र नभई जीवन उपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्व पनि सिक्छन् । यस्तो हाइकले उनीहरूलाई प्रकृतिसँग नजिक बनाउने र कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ अघि बढ्न सिकाउने अवसर दिन्छ ।
कार्यक्रममा विशेष अतिथि महाकवि देवकोटा मेमोरियल मा.बि. का प्रिन्सिपल शिक्षाविद् रमेश शर्माले विद्यार्थीलाई व्यावहारिक जीवन सीपमा अभ्यस्त बनाउन स्काउट कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए । उनले भने, ‘आजको पुस्ता केवल पुस्तकमा सीमित नभई व्यवहारिक सीप र सामाजिक मूल्यमा पनि दक्ष हुनुपर्छ । स्काउटका यस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्ने बाटो खोल्छन् र सहकार्य, अनुशासन र सेवा भावको भावना जागृत गराउँछन् ।’
दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले पनि स्काउट कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै भने, ‘विद्यालयमा पढाइसँगै यस्ता अतिरिक्त गतिविधि अनिवार्य हुनुपर्छ । यसले विद्यार्थीलाई आफ्नो क्षमता चिन्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवारीपूर्वक समाजलाई योगदान दिन प्रेरणा दिन्छ । विशेष गरी स्काउटले सिकाउने आत्मनिर्भरता र नेतृत्व कौशलताले विद्यार्थीको जीवन उपयोगी हुन्छ ।’
कार्यक्रमका सभापति नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले यस्ता कार्यक्रमले बालबालिकालाई रिफ्रेसका साथै आत्मविश्वासको विकास गर्नमा सहयोग पुग्ने बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो काम आफैं गर्नु पर्छ भन्ने सिकाउनका लागि पनि स्काउटले निरन्तर रुपमा यस्ता कार्यक्रम गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा स्काउटमा आबद्ध बालबालिकाहरुलाई व्यवहारिक ज्ञान सिकाउनुका साथै विविध साहसिक खेलहरू संचालन गरिएको थियो । साथै, स्काउटहरूले दाउरामा खाना पकाउने अभ्यास समेत गरेका थिए ।
यस अवसरमा नेपाल स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारी, दिपेश केसी र सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामाको पनि विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा देवदूत अधिकारीले विभिन्न कला प्रस्तुत गर्दै उपस्थित विद्यार्थी तथा स्काउट मास्टरहरूलाई मनोरञ्जन गराएका थिए । कार्यक्रम नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालको संयोजनमा सम्पन्न भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस