झापा इनर्जी लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै आगामी भदौ २० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो।
पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता शेयर आयोजना प्रभावितलाई र ५७ हजार २९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको थियो।
समग्र निष्काशनमा २८ हजार ५१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर अब सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन्।
आईपीओमा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्काशन अवधि भदौ २४ गतेसम्म रहनेछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस