नबिल बैंक लिमिटेड र निम्बजबीच ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका डिजिटल सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। यस समझदारीपछि नबिल बैंकका ग्राहकले ‘एनबैंक’ मोबाइल एपमार्फत डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा प्राप्त गर्न सक्नेछन्।
विश्वभर प्रयोग गर्न सकिने डाटा ई–सिम
सम्झौताअनुसार अब बैंकका प्रयोगकर्ताले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी मुलुकमा प्रयोग गर्न मिल्ने डाटा ई–सिम खरिद गर्न सक्नेछन्। यसले विदेशमा पढ्न, रोजगारी गर्न वा भ्रमणमा जाने ग्राहकलाई सिम खरिद, केवाइसी प्रक्रिया वा विदेशी मुद्रा बुझाउनुपर्ने झन्झटबाट मुक्ति दिलाउने बैंकको भनाइ छ।
एपमार्फत अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट
एनबैंक एपमार्फत १० मिनेटभित्रै आवेदन दिएर ग्राहकले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सक्नेछन्। संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने यो अनुमतिपत्र १९० भन्दा बढी देशमा मान्य हुनेछ। अनुमति लिँदा परीक्षा दिनु नपर्ने, २४ घण्टाभित्र डिजिटल वा फिजिकल कार्ड प्राप्त गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।
सम्झौतामा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गरेका थिए। बाजगाईँले यो सहकार्यले ग्राहकलाई विश्वमै सहज र सुलभ संचार सेवा उपलब्ध गराउने बताए। त्यस्तै, तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारी जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई थप सुविधा र सहजता दिने उल्लेख गरे।
नबिल बैंक हाल २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिँदै आएको छ। चार दशकदेखि बैंकिङ क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको नबिलले डिजिटल प्रविधि प्रयोगमार्फत नयाँ सेवाको सुरुवात गर्ने परम्परा कायम राखेको छ।
निम्बज भने बहुआयामिक सुपर एप हो जसमा च्याट, भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटिटि मनोरञ्जन, डिजिटल वालेट, गेम र अन्य सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस