Like us!
Follow us!
Connect us!
Watch us!

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, अवस्था सामान्य बनाउन सबैले पहल गरौँ- मानव अधिकार आयोग

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १८ : ५६ मा प्रकाशित

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, अवस्था सामान्य बनाउन सबैले पहल गरौँ- मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले देशको अवस्था सामान्य बनाउन आग्रह गरेको छ । आयोगले देशको विकसित घटनाक्रमको अनुगमन गरिरहेको बताउदै स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्ने उल्लेख गर्दै सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको बताएको छ । 

त्यस्तै आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्दै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताएको छ । 

आयोगले भनेको छ- 

काठमाडौँ लगायत देशका विभिन्न भागमा भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको छ । देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरुको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको हो । आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्याउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।

विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुखद घटनाप्रति सबैको चिन्ता हुनु स्वभाविकै हो । अब यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ ।  देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्दछ । सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक छ । यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ । सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको