काठमाडौं महानगरपालिकाभित्रका विद्यालय आइतबारदेखि खुले पनि पठनपाठन भने सोमबारदेखि मात्रै सुरु हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू र निषेधाज्ञा (निषेधित क्षेत्रबाहेक) हटाएसँगै विद्यालय सञ्चालनको बाटो खुलेको हो। यसअघि निरन्तर बन्दाबन्दी र असुरक्षाको कारण कक्षाकोठा सुनसान रहँदा विद्यार्थी मात्र होइन, शिक्षक र अभिभावक पनि अनिश्चिततामा परेका थिए।
महानगरपालिकाले आजदेखि सबै शिक्षक र विद्यालय कर्मचारीलाई कार्यस्थलमा उपस्थित हुन निर्देशन दिएको छ। उनीहरूले पहिलो दिन प्रशासनिक काम, विद्यालय परिसरको सरसफाइ, सम्भावित क्षति मूल्याङ्कन, र अभिभावकसँग सम्पर्क जस्ता तयारी कार्यमा ध्यान दिनेछन्। तर विद्यार्थीलाई भने सोमबारदेखि मात्र विद्यालय आउन भनिएको छ।
अभिभावकलाई आफ्ना बालबालिकाको सुरक्षामा सतर्क रहन आग्रह गरिएको छ। परिस्थिति सामान्य देखिएमा मात्र विद्यार्थीलाई विद्यालय ल्याउन–लैजान प्रोत्साहित गरिएको छ। विद्यालय आइपुगेका विद्यार्थीलाई नियमित पढाइसँगै मनोसामाजिक परामर्श पनि उपलब्ध गराइने महानगरले जनाएको छ।
यता, विद्यालयमा अभिभावकको साथमा आउन नसक्ने विद्यार्थीलाई निरन्तरता दिन भर्चुअल कक्षाको सहारा लिइनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस