सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कामना सेवा विकास बैंक लिमिटेडले हालै क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनःसञ्चालनका लागि सहयोग प्रदान गरेको छ। पोखरा महानगरपालिका–३० नम्बर वडाको कार्यालय सञ्चालनमा सहयोग पु–याउने उद्देश्यले बैंकले आवश्यक टेबल–कुर्सी हस्तान्तरण गरेको हो।
जेन–जीको भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा सो कार्यालयका सम्पूर्ण उपकरण र फर्निचर जलेर नष्ट भएपछि कार्यालय सञ्चालन असम्भवजस्तै बनेको थियो। तर, कामना सेवा बैंकको ढुङ्गेपाटन शाखाकी प्रमुख लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई उपकरण हस्तान्तरण गरेपछि फेरि नियमित कार्य सुरु गर्न सहज भएको छ।
उक्त कार्यक्रममा वडाध्यक्ष सुवेदीले आन्दोलनका कारण क्षति पुगेका संरचनामा तत्काल सहयोग पुर्याएको बैंकलाई धन्यवाद दिँदै, अन्य निकाय र सरोकारवालाहरूलाई पनि पुनःनिर्माणमा सक्रिय सहभागी हुन आग्रह गरे।
यसै क्रममा, कार्यालय सञ्चालनमा समस्यामा परेका जिल्ला प्रहरी कार्यालय, कास्कीलाई पनि बैंकले कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ। पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालले उपकरणहरू डिएसपी हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए। आन्दोलनको क्रममा प्रहरी कार्यालयको सम्पूर्ण संरचना जलेर नष्ट भएपछि तत्कालीन कामका लागि यो सहयोग महत्वपूर्ण भएको बताइएको छ।
कामना सेवा विकास बैंकले विभिन्न वडाकार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयलगायतका क्षतिग्रस्त सरकारी संरचनामा पुनःनिर्माण, मर्मत सम्भार र आवश्यक उपकरण उपलब्ध गराउने अभियान अघि बढाएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस