Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको रिसर्च ग्रान्ट आवेदन म्याद चैत मसान्तसम्म थप

अर्थ संसार

सोमबार, १८ फागुन २०८२, १० : ०४ मा प्रकाशित

कामना सेवा विकास बैंकको रिसर्च ग्रान्ट आवेदन म्याद चैत मसान्तसम्म थप

कामना सेवा विकास बैंक लिमिटेडले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूका लागि उपलब्ध गराउँदै आएको अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) कार्यक्रमको आवेदन अवधि चैत मसान्तसम्म विस्तार गरेको छ।

बैंकका अनुसार विभिन्न विश्वविद्यालय तथा विद्यार्थीहरूको अनुरोधलाई ध्यानमा राख्दै अनुदान आवेदनको समयावधि थप गरिएको हो। यस कार्यक्रममार्फत उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।

बैंकले अर्थशास्त्र तथा व्यवस्थापन विषयमा एमफिल अध्ययन गरिरहेका शोधकर्ता विद्यार्थीहरूका साथै व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीहरूलाई अनुसन्धान कार्यका लागि आर्थिक सहयोग प्रदान गर्नेछ।

अनुदानका लागि आवेदन दिन इच्छुक विद्यार्थीहरू मान्यता प्राप्त विश्वविद्यालयमा व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातकोत्तर वा एमफिल कार्यक्रममा भर्ना भएको हुनुपर्ने व्यवस्था गरिएको छ। बैंकिङ क्षेत्र, अर्थतन्त्र तथा सूचना प्रविधिसँग सम्बन्धित विषयमा गरिने अनुसन्धानलाई प्राथमिकता दिइने जनाइएको छ।

कार्यक्रम अन्तर्गत एमफिल तहका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही एक लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ। त्यसैगरी व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह अध्ययनरत चार जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान सहयोग प्रदान गरिने बैंकले जनाएको छ।

अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले सम्बन्धित कलेज वा शैक्षिक संस्थाको सिफारिससहित आफ्नो अनुसन्धान प्रस्तावना आगामी १३ अप्रिल २०२६ अर्थात् चैत मसान्तभित्र बैंकमा पेश गर्नुपर्नेछ। विषयगत विज्ञहरू सम्मिलित छनोट समितिले प्रस्ताव मूल्यांकन गरी योग्य विद्यार्थी छनोट गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार यस कार्यक्रमले अनुसन्धान संस्कृतिलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई मौलिक तथा तथ्यमा आधारित अध्ययन गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उपयोगी हुने विश्वसनीय तथ्याङ्कमा आधारित अनुसन्धानलाई प्राथमिकता दिइने बताए।

नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूको शोध तथा अनुसन्धानलाई सहयोग गर्न वित्तीय संस्थालाई अनुमति दिएपछि कामना सेवा विकास बैंकले उक्त अनुसन्धान अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको हो।

अनुदानसम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।

69a5101ecad27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको