Like us!
Follow us!
Connect us!
Watch us!

३९ करोड नाफा, २० रुपैयाँ ईपीएस – कामना सेवाको सेयरधनीका लागि संकेत के हो?

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ०८ : २६ मा प्रकाशित

३९ करोड नाफा, २० रुपैयाँ ईपीएस – कामना सेवाको सेयरधनीका लागि संकेत के हो?

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै चालु आवमा मजबुत सुधारको संकेत दिएको छ।  साउनदेखि पुस मसान्तसम्मको अपरिस्कृत विवरण प्रकाशन गर्ने पहिलो बैंक बनेको कामना सेवाले नाफा, आम्दानी, निक्षेप तथा कर्जा विस्तार सबै सूचकमा सन्तुलित वृद्धि देखाएको छ।

प्रकाशित विवरणअनुसार बैंकले पहिलो ६ महिनामा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा ३२ करोड २४ लाख रुपैयाँ रहेको थियो। यसरी वार्षिक आधारमा बैंकको खुद नाफा २२.३४ प्रतिशतले बढेको देखिन्छ, जुन विकास बैंक क्षेत्रका लागि उल्लेखनीय मानिन्छ।

नाफासँगै बैंकको सञ्चालन क्षमतामा समेत सुधार देखिएको छ। समीक्षा अवधिसम्म बैंकले ५६ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २१ प्रतिशतले बढी हो। सञ्चालन मुनाफामा आएको यो वृद्धि बैंकको खर्च नियन्त्रण र ब्याज आम्दानीको स्थायित्वसँग जोडिएको देखिन्छ।

बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी पनि सन्तोषजनक रूपमा बढेको छ। चालु आवको पुससम्म खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतभन्दा बढी हो। यसले बैंकको कर्जा–निक्षेप संरचना अपेक्षाकृत सन्तुलित रहेको संकेत गर्छ।

पुँजी संरचनातर्फ हेर्दा बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म रिटेन्ड अर्निङ २९ करोड ५७ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफाको आधारमा बैंकको लाभांश क्षमता करिब १५ प्रतिशतभन्दा माथि देखिएको छ, जसले सेयरधनीका लागि सकारात्मक सन्देश दिन्छ।

निक्षेप तथा कर्जा विस्तार पनि स्थिर गतिमा अघि बढेको छ। पुस मसान्तसम्म बैंकले ६३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसँग तुलना गर्दा निक्षेप र कर्जा दुवैमा वृद्धि देखिनु बैंकको बजार पहुँच र ग्राहक विश्वास बढ्दै गएको संकेत हो।

सेयरधनीका लागि महत्वपूर्ण सूचक प्रतिशेयर आम्दानी (ईपीएस) वार्षिकीकृत आधारमा २०.४३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १८.३७ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ कायम रहँदा बैंकको पीई रेसियो २२.१७ गुणा रहेको छ, जसले बजार मूल्यांकन मध्यम स्तरमा रहेको देखाउँछ।

समग्रमा हेर्दा, कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सन्तुलित नाफा वृद्धि, स्थिर आम्दानी, पुँजी पर्याप्तता र विस्तारमुखी कर्जा नीतिको संकेत दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको