गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोले आफूलाई राजनीतिक गतिविधिसँग जोडेर प्रस्तुत भइरहेका केही समाचार र खोज परिणामहरूप्रति आपत्ति जनाएका छन्।
उनको कार्यालयले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा डा. महतो कुनै पनि राजनीतिक पदमा नरहेको र कुनै दल वा राजनीतिक संलग्नता नभएको स्पष्ट पारिएको छ। विज्ञप्तिमा भनिएको छ, “डा. महतोको पहिचान उद्यमशीलता, लगानी र समाजसेवामा आधारित छ। उहाँलाई राजनीतिज्ञका रूपमा चित्रण गर्नु पूर्णतः भ्रामक र गलत हो।”
स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना र राष्ट्रिय विकासका क्षेत्रमा डा. महतोले पुर्याएको योगदानलाई उल्लेख गर्दै विज्ञप्तिमा उनको कामले नेपाल मात्र नभई विदेशमा समेत सकारात्मक प्रभाव पारेको बताइएको छ।
उनको पक्षबाट सबै सञ्चारमाध्यम र सरोकारवालालाई विश्वसनीय स्रोतमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ। साथै, भ्रमपूर्ण सूचनाले उद्यमशीलता र सामाजिक योगदानलाई नै कमजोर बनाउने भन्दै तथ्यमा आधारित पत्रकारिताको आवश्यकतामा जोड दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस