Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालमै उद्यम गर्ने हाम्रो अपराध थियो ?’ – इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपको आक्रोश

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, ०८ : १९ मा प्रकाशित

‘नेपालमै उद्यम गर्ने हाम्रो अपराध थियो ?’ – इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपको आक्रोश

भाद्र २३ र २४ गते जन–जेड समूहको नेतृत्वमा भएको आन्दोलनले देशमा ठूलो राजनीतिक र सामाजिक परिवर्तन ल्याएको छ। यस आन्दोलनमा शहादत प्राप्त गरेका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

‘भ्रामक समाचारप्रति गम्भीर ध्यान’

विज्ञप्तिमा हालै विभिन्न अनलाइन, छापा र सामाजिक सञ्जालमा आफूहरुसँग सम्बन्धित भ्रामक र कपोलकल्पित समाचारहरू प्रकाशित/प्रसारित भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ। विशेषगरी आन्दोलनका अगुवा सुदन गुरुङसँग आफ्नो व्यवसायिक गतिविधिलाई जोड्ने गलत समाचारबारे आपत्ति प्रकट गरिएको छ।

कोरोना महामारीका बेला मात्रै सहकार्य’

दुवै व्यवसायिक समूहले कोभिड–१९ को कठिन समयमा ‘हामी नेपाल’ नामक संस्थासँग सहकार्य गरेर उपचार र पुनःस्थापनामा सहयोग पुर्‍याएको उल्लेख गरेका छन्। त्यही क्रममा उनीहरूको सुदन गुरुङसँग चिनजान भएको र संस्थालाई परिचालन पार्टनरको रूपमा रोजिएको भए पनि त्यसयता कुनै सहकार्य नभएको स्पष्ट पारेका छन्।
“हामीले गरेको सहयोग पूर्ण रूपमा पारदर्शी थियो, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो र सोसम्बन्धी जानकारी त्यतिबेलै सार्वजनिक गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ।

‘सत्य नखोजी अनुमानमा समाचार’

हाल केही सञ्चारमाध्यमले सुदन गुरुङको वर्तमान राजनीतिक गतिविधिलाई आफ्नो नामसँग जोडेर प्रचार गरेकोमा दुःख व्यक्त गरिएको छ। “सत्य तथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन हुनु दुर्भाग्यपूर्ण छ,” विज्ञप्तिमा भनिएको छ।

होटल हिल्टनमा आगजनी

आन्दोलनका क्रममा शंकर ग्रुप र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल ‘हिल्टन’मा समेत आगजनी भएको विज्ञप्तिमा जनाइएको छ।
“हाम्रो अथक मिहिनेतले निर्माण भएको यो धरोहर खरानीमा परिणत हुँदा केवल भौतिक क्षति मात्र नभई नेपालको व्यापार, पर्यटन र समग्र अर्थतन्त्रमा नै गम्भीर असर परेको छ,” विज्ञप्तिमा भनिएको छ।

‘हाम्रो लगानी अपराध होइन’

भट्ट र अग्रवालले होटललाई लक्षित गरी भ्रामक समाचार फैलाइएको र त्यसकै परिणाम स्वरूप आगजनी भएको आरोप पनि लगाएका छन्। उनीहरूले भनेका छन्, “नेपालमा ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो? अब यो धरोहर खरानी हुँदा हामी विक्षिप्त भएका छौं, तर विचलित भने भएका छैनौं।”

‘फेरि उठ्ने दृढ विश्वास’

दुवै व्यवसायिक समूहले संकटको घडीमा पनि व्यवसायलाई नयाँ ढंगले अघि बढाउने दृढ विश्वास व्यक्त गरेका छन्। “हामीले धेरै अवसरलाई छोडेर देशमै केही गर्ने संकल्प गरेका थियौं, अब फेरि उठेर नेपाल र नेपालीका लागि योगदान दिन्छौं भन्ने विश्वास हामीलाई छ,” विज्ञप्तिमा भनिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको