Like us!
Follow us!
Connect us!
Watch us!

थपिदै डेढ मेगावाट विद्युत् , बाग्लुङमा विद्युत् प्रसारण सहज हुने

शुक्रबार, २६ माघ २०७४, ११ : ५१ मा प्रकाशित

थपिदै डेढ मेगावाट विद्युत् , बाग्लुङमा विद्युत् प्रसारण सहज हुने

अर्थ संसार, काठमाडौं– बाग्लुङ जिल्लामा आयोजना स्थल रहेको ठेउलेखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ ।

महिना दिनभित्रमा नियमित विद्युत् उत्पादन शुरु हुने आयोजना व्यवस्थापनले जनाएको छ । आयोजनाको सबै काम पूरा भएको इञ्जिनियर सूर्य अधिकारीले जानकारी दिनुभयो ।

दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दीजस्ता कारणले पछि धकेलिएको हो । इन्धन अभावले महिनौँसम्म आयोजना निर्माण कार्य ठप्प बनेको थियो ।

१.५ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य २०७० चैतबाट शुरु भएको थियो । रु ३३ करोडभन्दा बढीको लागतमा आयोजना बनेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । निर्माणमा भएको ढिलाइले लागत १० प्रतिशतले बढेको इञ्जिनियर अधिकारीले बताउनुभयो ।

शुरुमा आयोजनाको लागत अनुमान जम्मा रु २६ करोड ५० लाख थियो । “सिभिल र इलेक्ट्रो मेकानिकलतर्फको सबै काम सम्पन्न भएको छ”, इञ्जिनियर अधिकारीले भन्नुभयो, “परीक्षण उत्पादन पनि सफल भएपछि नियमित विद्युत् उत्पादनको तयारी अघि बढेको छ ।”

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई रु ९० लाखभन्दा बढी मुआब्जासमेत वितरण गरिसकेको छ । अतिप्रभावित एक घर र जग्गालाई मुआब्जा दिन बाँकी रहेको आयोजनाले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रभावित र आयोजना व्यवस्थापन बसेर छिट्टै मुआब्जा टुंगो लगाई विद्युत् उत्पादनलाई नियमित गरिने इञ्जिनियर अधिकारीले बताउनुभयो । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणले वाड नंं १, कुश्मीसेरामा सवस्टेशन निर्माण गर्न लागेको छ ।

आयोजनाले प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ । आयोजना बनेपछि जैमिनी नगरपालिकासहित बागलुङ नगरपालिकाका केही वडाले प्रत्यक्ष लाभ लिने भएका छन् ।

वडा नं १ कुश्मीसेरा र वडा नं ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई चार मिटर अग्लो बाँध बाँधेर दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत वडा नं ५ को बिनामारेमा रहेको विद्युत्गृहमा खसालिएको छ । आयोजनामा स्थानीयवासीको समेत १० प्रतिशत शेयर रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको