Like us!
Follow us!
Connect us!
Watch us!

पैसा कमाउन विदेश नै जानु पर्दैन

आइतबार, २८ माघ २०७४, १२ : ३० मा प्रकाशित

पैसा कमाउन विदेश नै जानु पर्दैन

गोपालप्रसाद पोखरेल

अर्थ संसार, पथरी, मोरङ– दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ ।

एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ ।

२०६७ सालदेखि एक माउ भैँसीबाट पशुपालन शुरु गर्नुभएका चोङवाङले अहिले आफैलेउत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा बिक्री गर्ने सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको बताउनुभयो ।

चोङवाङले गाउँमा आफै रोजगारीको सृजना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गर्नुभयो । उहाँले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिनु भएको छ ।

सो केन्द्रमा अहिले नौ माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसायलाई बिस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी पाल्नुभएको छ । रु दश लाखको लगानीमा शुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाइ छ ।

उहाँले मासिक रुपमा रु एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको बताउनुहुन्छ । उहाँ मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्किनुभएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परिवार नै मिलेर दुईवटा बाख्राबाट बाख्रा फारम खोल्नुभएका सुवेदी परिवारले अहिले १०० वटा बाख्रा पाल्न थाल्नुभएको छ ।

उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको छ । आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन उहाँ आग्रह गर्नुहुन्छ ।

सुवेदीले बाख्रापालन सँगै दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गर्नुभएका सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्म पुग्ने गरेको बताउनुभयो ।

बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ । उहाँ मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भैँसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको