डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो ।
आयोजनाले ४ वर्षको अवधिमा उक्त प्रगति हासिल गरेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० सम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेशन निर्माण गर्न ४ वर्षअघि ३ अर्ब ५७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् ।
चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाटको माथिल्लो ठूलोखोला आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस