अर्थ संसार, ललितपुर– महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ ।
पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
कुन कुन ठाउँमा र कसरी ‘वान वे’ लागू गर्ने भन्ने अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “मुख्य गरेर दरबार क्षेत्र र त्यससँगै पर्यटक आगमन बढी हुने अरु क्षेत्रमा सवारी व्यवस्थापनको योजना बनाइएको छ ।”
सवारी साधनको चाप धेरै भएका स्थानमा पर्यटकसँगै अरु पैदल यात्रुले समेत सास्ती भोग्दै आएका छन् । पाटन दरबार क्षेत्रमा निश्चित समयबाहेक अन्य बेला सवारी साधन नै चल्न नदिने गरी तयारी भइरहेको महानगर प्रमुख महर्जन बताउनुहुन्छ ।
सोबारे ट्राफिक प्रहरी, जातीय समूहलगायत सरोकारयुक्त निकायसँग छलफल भइरहेको छ । आगामी वैशाख १ गतेदेखि लागू गर्ने गरी तयारी अघि बढेको महानगरपालिकाले जनाएको छ । उहाँले भन्नुभयो, “अध्ययन र छलफल दुवै भइरहेको छ ।”
केही वर्ष पहिलेदेखि ग्वार्खोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटामा ‘वान वे’ पद्धति लागू छ । यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ । भित्री भागमा ‘वान वे’ लागू गर्नुपर्ने भनी ट्राफिक प्रहरीले बताउँदै आएको थियो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस