तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब रु ४५ लाख आम्दानी गरेका छन् । सामूहिक अकबरे खुर्सानीखेती गरेका त्यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन् ।
मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिए । त्यहाँका ३५ जना कृषक अकबरे खुर्सानीखेतीमा आबद्ध छन् । कृषक अखिल सारु मगरले यस वर्ष अकबरे खुर्सानी बिक्रीबाट रु सात लाख आम्दानी गरिसक्नुभएको छ । करिब रु १२ लाख आम्दानी हुने उनको अनुमान छ । कृषक जयकुमार थापाले खुर्सानी बिक्री गरी रु एक लाख ५० हजार आम्दानी भएको जानकारी दिए । उनले मकै र कोदो रोप्ने बारीमा अकबरे खुर्सानी गरेको बताए । असारदेखि अकबरे खुर्सानी बजार पुर्याइएको उनले उल्लेख गरे ।
त्यहाँको कटनछाप, पाथर्दी, सखेप, पाइमे, जौपानीममा व्यक्तिगतसँगै सामूहिक अकबरे खुर्सानीखेती गरिएको छ । वडालाई अकबरेखेतीको पकेट क्षेत्र बनाउन ५० हजार बेर्ना कृषकलाई वितरण गरिएको थापाले बताए। अकबरे खुर्सानी बिक्रीबाट यहाँका कृषकले न्यूनतम ७० हजार आम्दानी गरेका छन् । उनले भने, “अकबरे खुर्सानीले यहाँका कृषकको मुहारमा खुसी ल्याएको छ ।” अकबरे खुर्सानी पिरो भए पनि यसको आम्दानीले कृषकको जीवन गुलियो बनाएको थापाको भनाइ छ । कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न त्यहाँका स्थानीयवासी अकबरे खुर्सानीखेतीमा लागेका हुन् । उक्त खेतीबाट कृषकहरुले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेका छन्।
उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरुमा बिक्री गरिएको छ । उनले भने “बजारको समस्या छैन, माग धेरै छ ।” हाल बजारमा प्रतिकेजी रु तीन सयदेखि पाँच सय थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नम्बर ९ ले रु एक लाख अनुदान दिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस