सरकारले बाढी र पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलवारको बैठकले मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो ।
मापदण्डअनुसार मृतकका परिवारले २ लाख रुपैयाँ राहत पाउनेछन् । बाढी पहिरोबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए । उनकाअनुसार अस्थायी आवास निर्माणको लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । उनले स्थायी आवास निर्माणको लागि भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।
‘राहत वितरणको सम्बन्धमा जुन हाम्रो मापदण्डमा छ, मापदण्डअनुसार नै वितरण गर्ने भन्ने निर्णय भएको छ । राहत मृतकका परिवार, बेपत्ताका परिवारले पाउने हाम्रो मापदण्ड अनुरुपको रकम त्यो तत्काल नै दिने भन्ने निर्णय भएको छ । राहत तत्काल उपलब्ध गराउनको लागि गृहमन्त्रालयमार्फत निर्देशन दिईएको छ । कसैको घर भत्किएमा तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रुपमा स्थायी आवासमा लिएर जाने भन्ने हुन्छ, अस्थायी आवसको लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ पाउँने, २५ हजार रुपैयाँ तत्काल पाउने र २५ हजार चाहिँ एक लेबलको घरको संरचना बनाइसकेपछि पाउने भन्ने मापदण्ड रहेको छ । यो चाहीँ रकम तत्कालै दिने जसको घर भत्केको छ,’ उनले भने ।
बैठकले सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न तीन वटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । सडकहरु संघीय, प्रदेश र स्थानीय सरकारको भएको हुनाले तद् निकायले आफ्नो सडक सेवा, खानेपानी विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु तत्काल सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस