राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सरकारले उदासीनता देखाएको भन्दै कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै नेता शाहीले दुर्घटनापछि भीरमा अड्किएर यात्रुहरूले डाँको लगाउँदा समेत समयमै उद्धार हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे।
संकटको घडीमा घाइतेहरूको ज्यान जोगाउन हेलिकप्टर पठाएर द्रुत उद्धार गर्नुको साटो सरकारका मन्त्रीहरू भने कर्णालीको आकाशमा सयर गरेर घुमिरहेको आरोप उनले लगाए।
उनले भने, ‘भीरमा अड्किएर उहाँले जीवनको भीख मागिराख्नुभएको थियो । उनीहरूको गुहारले नदीको किनार थर्कियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो । स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो । गाडी नदीमा डुब्यो र भीरमा अड्केको मान्छेको मृत्यु भयो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो, आशा सक्कियो तर उद्धार आएन । त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो । यता प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू भागबण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए । उद्धार टोलीसँग साधन थिएन । हेलिकप्टर आकाशमा घुम्दै गर्दा, एउटा हेलिकप्टर पठाउने क्षमता यो सरकारसँग भएन ।’
उनले कर्णाली नेपालमा हो कि होइन ? भन्दै प्रश्न सोधे।
उनले थपे, ‘आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा, कर्णालीमा नागरिक डुब्दै गर्दाखेरि उद्धार गर्न नहुने? के कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन्? यसको जवाफ आज दिनुपर्छ । यो संसद्मा रुलिङ गर्नुपर्छ । कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ कि छैन ? के कर्णालीका युवाहरू यो देशको भविष्य हुन् कि होइनन् ? कि हामी कर्णालीमा जन्मिनु नै हाम्रो अभिशाप हो ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस