वैदेशिक स्रोत समावेश भएको बजेट निकासा तथा फुकुवा प्रक्रियालाई सरल, सहज तथा एकरुपता कायम गर्न सरकारले ‘वैदेशिक सहायताको स्रोत फुकुवा सम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । अर्थ मन्त्रालयबाट गत सोमबार स्वीकृत भएको कार्यविधि महालेखा नियन्त्रक कार्यालयले आज सार्वजनिक गरेको हो ।
नगद अनुदान वा ऋण फुकुवाका लागि सम्बन्धित आयोजनाबाट आफ्नो नाममा रहेको मौज्दात रकमको विवरण सहित महालेखा नियन्त्रक कार्यालयमा अनुरोध गर्नु पर्नेछ । साथै, वैदेशिक स्रोत अन्तर्गत नगद अनुदान वा ऋण समावेश भएका कार्यक्रमको प्रथम, दोस्रो, तेस्रो र चौथो त्रैमासिक अवधिको लागि विनियोजित बजेट भुक्तानी÷निकासा गर्न कार्यालयको फुकुवा आदेश आवश्यक पर्नेछ । कार्यालयको सम्बन्धित बैंक खातामा रकम जम्मा भएपछि मात्र नगद ऋण तथा नगद अनुदान स्रोतको बजेट फुकुवा हुने कार्यविधिमा उल्लेख छ ।
सम्बन्धित आयोजना÷कार्यक्रमको नाममा कार्यालयको खातामा रकम मौज्दात रहेको अवस्थामा उक्त रकमले खामेसम्म यस्तो स्रोतको बजेट फुकुवा गरिने बताइएको छ । पहिलो र दोस्रो त्रैमासिक अवधिको विनियोजनको हकमा अर्थ मन्त्रालयको पत्रको आधारमा फूकुवा हुने बताइएको छ । शोधभर्ना हुने अनुदान वा ऋण फुकुवाका लागि भने छुट्टै प्रक्रिया तोकिएको छ । यसका लागि ‘आयोजना लेखा मोडल’मा प्रविष्टि भएको हुनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस