प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत फागुन २१ गते तय गरिएको मतदान नजिकिँदै जाँदा मौन अवधि लागू भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज अचानक सार्वजनिक रूपमा देखिन छाडेको छ। मंगलबार बिहानदेखि प्रयोगकर्ताहरूले उनको प्रमाणित फेसबुक पेज खोज्दा नदेखिएको बताएका छन्।
निर्वाचन आयोगले मतदानअघि लागू गर्ने मौन अवधिमा उम्मेदवार तथा दलहरूले कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न नपाउने व्यवस्था रहेको छ। यही समयसँगै लामिछानेको आधिकारिक फेसबुक पेज निष्क्रिय वा लुकाइएको जस्तो देखिएपछि सामाजिक सञ्जालमा यसबारे चर्चा सुरु भएको हो।
लामिछानेसँग सम्बन्धित अन्य फेसबुक अकाउन्टहरू भने अझै सामाजिक सञ्जालमा सक्रिय देखिए पनि नीलो टिक (भेरिफाइड) भएको आधिकारिक पेज भने सर्च गर्दा भेटिँदैन। उक्त पेजलाई चुनावी अभियानका क्रममा व्यापक रूपमा प्रयोग गरिएको थियो।
मौन अवधि सुरु हुनुअघि सोमबार राति उनले मतदातासँग समर्थन माग्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए। त्यसपछि भने उनको प्रमाणित फेसबुक पेज सार्वजनिक पहुँचबाट हटेको वा अस्थायी रूपमा अदृश्य भएको देखिएको छ। पेज किन नदेखिएको हो भन्नेबारे आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस