नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग औपचारिक चरणमा पुगेको छ। उक्त मागका लागि संकलन गरिएको हस्ताक्षर भोलि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी गरिएको छ। आज बुझाउने तयारी भए पनि अब भोलि मात्रै पार्टी केन्द्रीय कार्यालयमै बुझाइने भएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित डा. शेखर कोइराला निकट समूहका नेताहरूले देशभरका महाधिवेशन प्रतिनिधिबाट हस्ताक्षर संकलन गरेका हुन्।
कुल ४ हजार ५५६ महाधिवेशन प्रतिनिधिमध्ये ५१ प्रतिशतभन्दा बढी (२४८०+) प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।
कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन आह्वान गर्न ४० प्रतिशत प्रतिनिधिको समर्थन आवश्यक हुन्छ। त्यसैले हालको हस्ताक्षरले विशेष महाधिवेशनका लागि आवश्यक कानुनी आधार पूरा भएको देखिन्छ।
महामन्त्री समूहले मंसिरमा नियमित महाधिवेशन नभए पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने तयारी गरेको बताइएको छ। सोहीबीच सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
संस्थापन पक्ष भने मंसिरमा कुनै महाधिवेशन गर्न नसकिने तर्कमा उभिएको छ।
आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति टुंगो लाग्ने अपेक्षा गरिएको भए पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस