ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले आगामी कात्तिक २६ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । उक्त सभाले मुख्य रूपमा हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ । साथै बैंकको प्रबन्धपत्र वा नियमावलीमा व्यवसायि उद्देश्यहरू भए थप गर्ने र सोमा नियमनकारी निकायबाट थप सुझाव वा हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि तय गरिएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ बुक क्लोजका आधारमा कात्तिक १३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै बैंकको सभामा भाग लिन र सभाले पारित गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस