 
                            पछिल्लो समय नेपाल राष्ट्र बैंकले लगातार रुपमा बैंकिङ प्रणालीबाट तरिलता खिचिरहेको छ । केही वर्षदेखि बैंकमा अधिक तरतलाको अवस्था हुँदा त्यसलाई व्यवस्थापनका लागि केन्द्रीय बैंकले नियमित रुपमा तरलता प्रशोचन गरिरहेको छ । चालु आर्थिक वर्षको कात्तिक दोस्रो सातासम्मको अवधिमा मात्रै केन्द्रीय बैंकले ११ खर्ब २० अर्ब रुपैयाँ प्रशोचन गरेको छ ।
केन्द्रीय बैंकका अनुसार साउन देखि कात्रिक १२ गतेसम्मको अवधिमा २२ पटक बजारबाट तरलता खिचेको छ । निक्षेप बढ्ने र कर्जाको माग नबढ्ने हुँदा लामो समययता बैंक तथा फाइनान्स कम्पनीहरुमा अधिक तरलताको अवस्था रहेको छ । केन्द्रीय बैंकले विभिन्न किसिमका मौद्रिक उपकरणमार्फत यसको समाधान गर्ने प्रयास गरे पनि यो दीर्घकालीन समाधान भने होइन् ।
विगतमा अधिक तरलताको अवस्था हेरेर ७ दिने, १४ दिने, २१ दिने, २४ दिने मौद्रिक उपकरण जारी गरेर अधिक तरलता नियन्त्रणमा राख्दै आएको राष्ट्र बैंकले पछिल्लो समय भने अधिक तरलता नियन्त्रणमा नआएकै कारण न्यूनतम ४ दिनदेखि अधिकतम १७५ दिनमा परिपक्व हुने मौद्रिक उपकरण प्रयोग गरेर बजारबाट तरलता खिचिरहेको छ । बैंकिङ क्षेत्रमा अधिक तरलता बढ्नुको मूल कारण निक्षेप बढ्नु तथा कर्जाको माग निकै न्यून हुनु हो । यही समस्याबाट अहिले सिंगो बैंकिङ क्षेत्र पिरोलिएको छ । यो अवस्थामा राष्ट्र बैंक स्वयम्ले भने अधिक तरलता नियन्त्रणमा राख्नको लागि चालू आर्थिक वर्ष सुरु भएदेखि यता हालसम्म २२ पटक विभिन्न अवधिका मौद्रिक उपकरण जारी गरेर बैंकिङ प्रणालीबाट ११ खर्ब २० अर्ब रुपैयाँ खिचिसकेको छ । जसमध्ये यही कात्तिक ९ र कात्तिक १२ गते जारी गरेको मौद्रिक उपकरण परिपक्व हुने बाँकी रहेको छ भने यसअघि मौद्रिक उपकरण जारी गरेर बैंकिङ प्रणालीबाट खिचिएको रकम परिपक्व भएपश्चात् बैंकिङ प्रणालीमा पुन फिर्ता गइसकेको छ ।
राष्ट्र बैंकका अनुसार परिपक्व हुन बाँकी रहेको मौद्रिक उपकरणहरुमा कात्तिक १२ गतेको १७५ दिने अवधिको ४० अर्ब रुपैयाँ बराबरको मौद्रिक उपकरण र कात्तिक ९ गते जारी गरेको ४२ दिने अवधिको ९० अर्ब रुपैयाँ बराबर रहेको छ । यी दुई उपकरणको परिपक्व हुने अवधि क्रमशः २०८३ वैशाख ९ गते र २०८२ मंसिर २१ गते रहेको छ । राष्ट्र बैंकका अनुसार अधिक तरलता नियन्त्रणको लागि बैंकिङ प्रणालीबाट खिचिएको कुल ११ खर्ब २० अर्ब रुपैयाँमध्येमा असोज महिनामा क्रमशः ३५, ५०, २०, ९०, ४०, ७० र ९० अर्ब रुपैयाँको सातपटक मौद्रिक उपकरण जारी गरिएको थियो । यसैगरी, भदौ महिनामा पनि क्रमशः २५, ५०, ५५, ४५, ५०, ३० र ६० अर्ब समेत गरी सातपटक मौद्रिक उपकरण बिक्री गरिएको थियो । यसैगरी, साउन महिनामा पनि क्रमशः २५, ५०, २५, ५०, ८० र ५० अर्ब रुपैयाँको छपटक मौद्रिक उपकरण जारी गरी अधिक तरलता नियन्त्रणमा राख्ने प्रयास गरिएको थियो ।
पछिल्लो समय लगातार रुपमा बैंकिङ क्षेत्रमा अधिक तरलता बढ्दै जाँदा पनि यसको दीर्घकालिन समाधानमा भने खासै ध्यान दिएको देखिदैन । अझ पछिल्लो समय जेनजी आन्दोलनका कारणले भएको क्षतिका कारण बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने तर्फ व्यवसायीहरु थप हिचकिचाइरहेको देखिन्छ । 
 
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस