आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म चारवटा विकास बैंकले लाभांश घोषणा गरेका छन्। नेप्सेमा सूचीकृत विकास बैंकहरूमध्ये मितेरी विकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेका हुन्।
मितेरी विकास बैंकले आफ्ना सेयरधनीहरूलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ जसमा सम्पूर्ण हिस्सा नगद लाभांश हुनेछ। बैंकले मंसिर ६ गते साधारण सभा बोलाएको छ जसको आयोजना सुनसरीको धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक २३ गतेअघि कायम सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश समावेश छ। बैंकले आफ्नो साधारण सभा सम्पन्न गरिसकेको छ।
यस्तै,गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश समावेश छ। बैंकले आफ्नो १९औं वार्षिक साधारण सभा कात्तिक २७ गते बिहीबार बिहान ११ बजे पोखरा १७ बिरौटा स्थित होटल पोखरा ग्राण्डमा आयोजना गर्ने भएको छ। बैंकले कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरू लाभांशका हकदार हुनेछन्। मुक्तिनाथ विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट कुल १८.२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश समावेश छ। बैंकले कात्तिक १५ गते साधारण सभा आयोजना गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस