पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली वाम राजनीतिमा देखिएको नाम र अक्षरकेन्द्रित विवादमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्– “हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो भन्ने अन्तहीन विवादमा गुज्रिएको थियो, गुरूहरू अझै नेतृत्वमै हुनुहुन्छ।”
उनले पछिल्लो पुस्ताको राजनीतिक ध्रुवीकरणप्रति संकेत गर्दै थपे, “अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो भन्ने गलफत्तीमा जाने भयो।”
भट्टराईले देशको वास्तविक समस्याबाट ध्यान हटेको आरोप पनि लगाएका छन्। उनका अनुसार लाखौं बेरोजगार युवा विदेशिन बाध्य छन्, श्रम–निर्यात र वस्तु–आयातको परनिर्भरता झन् बढ्दो छ, तर नेताहरू अझै निरर्थक विवादमै अल्झिएका छन्।
उनले यस्तो बहसलाई “वे कार नभनू” भन्दै व्यङ्ग्य गरे।
भट्टराईले आफ्नो पोस्टमा मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दर्शन, चौथो औद्योगिक क्रान्ति (डिजिटल, जेनेटिक, नानो प्रविधि र एआई) को प्रभाव, र नेपालले अहिले भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको अवस्थाबारे गम्भीर अध्ययन र विमर्श गर्न आग्रह गरेका छन्।
उनले जेन–जी आन्दोलनलाई ‘देशमा भएको चमत्कारिक विद्रोह’ भन्दै त्यसबाट प्रेरणा लिँदै नयाँ विचार, नीति, कार्यक्रम र नेतृत्वको विकल्प निर्माण गर्नुपर्ने पनि बताएका छन्।
पोस्टको अन्त्यमा उनले लेखेका छन् — “कणहरूको जो मर्जी!”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस