चालु आर्थिक वर्ष २०८२/८३ को कार्तिकसम्मको राजस्व सङ्कलन निर्धारित लक्ष्यभन्दा कम रहेर सार्वजनिक भएको छ। राजस्व व्यवस्थापन महाशाखाका तथ्याङ्कअनुसार यस आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब तोकिएको थियो। तर कार्तिकसम्मको लक्ष्य ४ खर्ब २५ अर्ब २३ करोड रहेकोमा, वास्तविक सङ्कलन ३ खर्ब २९ अर्ब ५१ करोड मात्रै पुगेको छ। यस अनुसार प्राप्ति प्रतिशत ७७.४९ प्रतिशतमा सीमित भएको छ।
कार्तिक महिनाको मात्रै लक्ष्य १ खर्ब ३ अर्ब ७० करोड तोकिएकोमा, वास्तविक सङ्कलन ७८ अर्ब ३३ करोड मात्र भएको महाशाखाले जनाएको छ। यस महिना प्राप्ति प्रतिशत ७५.४९ प्रतिशतमा सीमित रहेको छ। दैनिक आधारमा, कार्तिक ३० गतेको सङ्कलन ३ अर्ब ६८ करोड मात्र भएको तथ्यांक सार्वजनिक गरिएको छ। गत वर्षको तुलनामा पनि स्थिति कमजोर देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको थियो भने कार्तिकसम्मको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड थियो। सो वर्ष कार्तिक ३० गतेसम्मको जम्मा सङ्कलन ३ खर्ब २९ अर्ब २ करोड मात्र थियो। कार्तिक महिनाको मात्र सङ्कलन ७६ अर्ब पुगेको थियो।
यस वर्षको कम सङ्कलनमा केही बाह्य कारणहरू पनि देखिएका छन्। हालै सम्पन्न जेनजी आन्दोलनका कारण बजार बन्द, व्यापारिक गतिविधि अवरुद्ध र दैनिक कारोबारमा अस्थिरता आएको छ। आन्दोलनले व्यापारिक सेवा र कर सङ्कलनमा बाधा पुर्याएपछि कार्तिक महिनाको कम सङ्कलनमा प्रत्यक्ष असर परेको महाशाखाले बताएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस