Like us!
Follow us!
Connect us!
Watch us!

जेन–जी आन्दोलको प्रभाव : घट्दै वैदेशिक लगानी, चार महिनामा साढे ३६ अर्बको मात्रै लगानी प्रतिबद्धता

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १३ : ०२ मा प्रकाशित

जेन–जी आन्दोलको प्रभाव : घट्दै वैदेशिक लगानी, चार महिनामा साढे ३६ अर्बको मात्रै लगानी प्रतिबद्धता

जेनजी आन्दोलन पछि नेपालमा वैदेशिक लगानी घट्दै गएको छ । यहि भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दै गरेको हो । 

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । पहिलो चार महिनाको अवधिमा ३८२ वटा उद्योगका लागि उक्त रकम बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । स्वचालित मार्ग र प्रत्यक्ष सहभागिता मार्गबाट उक्त लगानी आएको हो विभागले जनाएको छ । समीक्षा अवधिमा प्रत्यक्ष सहभागिता मार्गबाट ३४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ र स्वचालित मार्गबाट २ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । प्रत्यक्ष सहभागितामार्गमार्फत १३१ र स्वचालित मार्गबाट २५१ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।

विभागको तथ्यांक अनुसार चालु आवको ४ महिनाको अवधिमा अर्बौँ विदेशी लगानी आए पनि पछिल्लो समय निरन्तर घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २४ अर्ब १० करोड लगानी प्रतिबद्धता आएकोमा भदौमा ८ अर्ब ९८ करोड, असोजमा २ अर्ब ४ करोड र कात्तिकमा १ अर्ब ५४ करोड लगानी प्रतिबद्धता आएको हो । साउनमा उच्च देखिएको लगानी भदौपछि भने निरन्तर घट्दै गएको देखिएको छ । 

पछिल्लो समय भएको आन्दोलनका कारण नेपालमा लगानीको वातावरण विग्रेको र विदेशी लगानी पनि कम हुँदै गएको जानकारहरुको भनाइ छ । आन्दोलन पछि अहिले निजी क्षेत्रमा त्रासको अवस्था छ । जसको प्रभाव विदेशी लगानीमा समेत परेको छ । उद्योग क्षेत्रमा आउने विदेशी लगानी प्रतिबद्धता स्वचालित मार्गभन्दा बढी व्यक्तिको प्रत्यक्ष सहभागिता मार्गबाट आउने बढी विश्वसनीय देखिएको छ । वार्षिकरूपमा अर्बौँ लगानी प्रतिबद्धता आउने गरेको मध्ये बढी लगानी प्रतिबद्धता प्रत्यक्ष सहभागीमार्गबाट आउने रकम बढी देखिन्छ । विदेशी लगानीकर्ताले एफडीआईमार्फत ९ प्रकारका उद्योगमा लगानी गर्न सक्छन् ।

९ प्रकारका उद्योगहरूमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, पूर्वाधार, खनिज, निर्माण सेवामूलक र पर्यटनमूलक रहेका छन् । सुरुदेखि हालसम्म सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुकहरूमा चीन, भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका, बेलायत, लगायतका मुलुक रहेको विभागको तथ्यांकले देखाएको छ  ।  लगानी प्रतिबद्धता आएका परियोजनामध्ये ३६९ साना, मध्यम छ र ठूला ७ वटा उद्योग रहेको छ । चार महिनाको अवधिमा सबैभन्दा बढी कृषिमूलक १३ उद्योगमा २१ अर्ब ८८ करोड र सबैभन्दा कम खनिजमूलक एकवटा उद्योगका लागि चार करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता अएको छ ।

त्यसपछि क्रमशः पर्यटनमूलक ११८ उद्योगमा ८ अर्ब ९४ करोड रुपैयाँ, सेवाका २३ उद्योगमा ३ अर्ब ९ करोड ६० लाख र उत्पादनमूलक क्षेत्रका १२१ उद्योगमा १ अर्ब ६५ करोड लगानी प्रतिबद्धता आएको छ । प्रविधिमूलक क्षेत्रका २०५ उद्योगमा ८७ करोड ४३ लाख र ऊर्जाका १ उद्योगमा १८ करोड ४२ लाख लगानी प्रतिबद्धता आएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ९६ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । नेपालमा लगानी प्रतिबद्धता धेरै आउने र स्वीकृति रकम भने न्यून आउने गरेको पाइन्छ । प्रतिबद्धताको एक तिहाइ पनि विदेशी लगानी रकम आउँदैन । 

 

691d763aebcaa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको