पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको छ । एकातिर निक्षेप बढेको छ भने कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ७५ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिमा कुल ५६ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो हिसाबले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप र कर्जाको अनुपातको ग्याप १८ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । यो भनेको बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम १८ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ठप्प जस्तै देखिएको छ । लगानी हुन नसक्दा अहिले नियमित रुपमा राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्दै आएको छ ।
केही अधिसम्म छोटो अवधिका लागि रकम उठाउने गरेको राष्ट्र बैंकले अहिले भने लामो अवधिका लागि रकम प्रशोचन गरिरहेको छ । आज (आइतबार) मात्रै ८६ दिनका लागि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ प्रसोचन गर्दैछ । बैंक तथा वित्तीय संस्थामा रहेको तरलतामध्ये करिब ११ खर्ब रुपैयाँ वाणिज्य बैंकहरुको मात्रै रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरूमा मात्रै अहिले ६७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वाणिज्य बैंकहरुले कुल ५० खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो समय कर्जा प्रवाह सोचेजस्तो नहुँदा बैंकिङ प्रणालीको सीडी रेसियो ७४.२५ प्रतिशतमा झरेको छ । जबकी राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ९० प्रतिशत सीडी रेसियोसम्म लगानी गर्न पाइन्छ ।
औषतमा ७४.२५ प्रतिशत सीडी रेसियो भए पनि केही बैंकको त्यस्तो रेसियो भने ८० प्रतिशत माथि रहेको छ । २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै सीडी रेसियो हुने बैंकमा प्राइम कमर्सियल बैंक रहेको छ । जसको सीडी रेसियो ८६.२६ प्रतिशत रहेको छ । त्यस्तै एनएमबी बैंक ८४.८८ प्रतिशत र सानिमा बैंक ८३.५३ प्रतिशत रहेको छ । सिटिजन्स बैंकको सीडी रेसीयो ८२.५९ प्रतिशत, कुमारी बैंकको ८१.८२ प्रतिशत र हिमालयन बैंकको ८०.४२ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस