Like us!
Follow us!
Connect us!
Watch us!

कालानमक धानको जात लोप हुँदै

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, १५ : ४० मा प्रकाशित

कालानमक धानको जात लोप हुँदै

बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ। किसानले लगानीअनुसार प्रतिफल नपाएपछि व्यावसायिक तथा हाइब्रिड धानतर्फ आकर्षित हुँदै गएपछि यो जात लोपोन्मुख बनेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी, वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए।

उनका अनुसार सिँचाइ, स्याहारसुसार, रोग र कीराको जोखिम बढी भएकाले किसानले कालानमकको साटो हाइब्रिड जात रोज्न थालेका हुन्। कालो र बास्नादार दानाका कारण कालानमक भनिने यो धान १४० दिनमा मात्रै तयार हुने भएकाले किसान छोटो समयमै उत्पादन दिने जाततर्फ लाग्न थालेका छन्। विगतमा बाँके र बर्दियामा यसको खेती प्रचलित भए पनि अहिले खेती क्षेत्र शून्यजस्तै भएको पाठकले बताए।

यस वर्ष बाँकेमा ३४ हजार १९० हेक्टरमा धानखेती भए पनि कालानमक तथा अन्य परम्परागत जात गणनामा समावेश छैनन्। संरक्षणका लागि कृषि ज्ञान केन्द्रले प्रचारप्रसार थालेको छ। कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त बीउ बैजनाथ गाउँपालिका–८ टिटिहिरियामा प्रयोग गरी पुनःप्रवद्र्धनको प्रयास भइरहेको छ। अग्लो बोट ढल्ने समस्या भएकाले अहिले होचो जात प्रयोगमा ल्याइएको कृषि परिषद्को भनाइ छ।
बैजनाथ–८ का किसान गङ्गानारायण चौधरीले एक हेक्टर क्षेत्रमा कालानमक खेती गरिरहेका छन्। पाँच वर्षदेखि कालानमक र कुइनुर बासमती खेती गर्दै आएका चौधरीले यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान गरेका छन्। अन्य धान भित्रिएपछि चरा, मुसा र कीराको सङ्क्रमण बढी हुने समस्या देखिएको उनले बताए ।

कालानमक चामलको बिक्रीमा भने समस्या छैन। अन्य धान प्रतिक्विन्टल करिब रु ३,५०० मा बिक्री हुँदा कालानमक प्रतिक्विन्टल रु १०,००० सम्ममा बेचिने गरेको चौधरीले जानकारी दिए। उच्च लागत, लामो खेती अवधि, सिँचाइको आवश्यकता र रोगको जोखिमका कारण मूल्य महँगो हुने कृषि ज्ञान केन्द्रका अधिकारीले बताए। किसानले रामधान, राधा–४, एमपी–६०, गोरखनाथलगायत हाइब्रिड जात रोजिरहेका बेला मसिना तथा बास्नादार धान प्रवद्र्धनका लागि बीउ तथा कृषि प्रविधिमा अनुदान दिने कार्यक्रम सुरु भएको कृषि ज्ञान केन्द्रका प्रमुख, वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले जानकारी दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको