Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा सञ्चालित सार्वजनिक संस्थाकै नाफा घट्यो, कसको मुनाफा कति ?

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १६ : ३३ मा प्रकाशित

नाफामा सञ्चालित सार्वजनिक संस्थाकै नाफा घट्यो, कसको मुनाफा कति ?

अहिले सरकारको पूर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको संख्या ४५ वटा रहेको छ । ४५ वटामध्ये अधिकांश संस्थानहरु घाटामा नै सञ्चालन भइरहेका छन् । यो विगत लामोसयमदेखिकै समस्या हो । सरकारी स्वामित्वमा रहेका केही संस्थानहरु भने नाफामा पनि रहेका छन् । तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार नाफामा सञ्चालन भइरहेका संस्थानहरुको नाफा समेत घटेको देखिएको छ । 
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार अस्तित्वमा रहेका संस्थानहरूको वित्तीय विवरण अनुसार २०८०/८१ सम्ममा २८ वटा संस्थानहरू नोक्सानीमा छन्  भने १५ संस्थानहरू नाफामा रहेका छन् । दुईवटा संस्थानको विवरण नै प्राप्त भएको छैन । केन्द्रीय बैंकले नाफामा सञ्चान भएका भनिएका १५ वटा संस्थानहरुको समेत खुद नाफामा गिरावट देखिएको छ । यी संस्थानहरुको नापा ११.५० प्रतिशतले घटेको छ । 

४५ वटा सार्वजनिक संस्थानहरुमध्ये १० औद्योगिक क्षेत्र, ५ जनपयोगी क्षेत्र, ४ व्यापारिक क्षेत्र, १० वित्तीय क्षेत्र, ५ सामाजिक क्षेत्र र ११ वटा सेवा क्षेत्रका संस्थानहरु रहेका छन् ।  नोक्सानीमा सञ्चालित १५ संस्थानको खुद नोक्सानी ८.६५ प्रतिशतले बढेको देखिएको छ । प्रतिवेदनअनुसार २०७९÷८० मा संस्थानहरूको खुद नाफा ४८ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०÷८१ मा यस्तो नाफा १२.८८ प्रतिशतले घटेर ४२ अर्ब ६२ करोडमा झरेको छ । यस्तो नाफाअन्तर्गत नेपाल आयल निगमले ९ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा नेपाल दूरसञ्चार कम्पनीले ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । नेपाल विद्युत् प्राधिकरणले पनि उक्त अवधिमा १० अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा कृषि विकास बैंकले २ अर्ब ९० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा नेपाल बैंकले २ करोड ८४ लाख रुपैयाँ मात्र खुद मुनाफा कमाएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष भने यस अवधिमा ४ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा नागरिक लगानी कोषले १ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यस अवधिमा ३ अर्ब ३९ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा अन्य केही संस्थानहरू खुद नाफामा रहेका छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ मा सार्वजनिक संस्थानहरूको कुल सेयरधनी कोष एवं नेपाल सरकारको सेयर तथा ऋण लगानी समेत बढेको छ । सरकारको सेयर तथा ऋण लगानी अघिल्लो वर्षको तुलनामा ५.९ प्रतिशतले बढेको हो । सार्वजनिक संस्थानहरूबाट आर्थिक वर्ष २०७९÷८० मा सरकारलाई १३ अर्ब ७६ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०÷८१ मा ८ अर्ब ८४ करोड लाभांश प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यो सरकारी सेयर लगानीको २.४२ प्रतिशत हुन आउँछ । समीक्षा वर्षमा नेपाल दूर सञ्चार कम्पनीबाट ६ अर्ब ५९ करोड, राष्ट्रिय वाणिज्य बैंक बाट ८५ करोड ९८ लाख, नेपाल स्टक एक्स्चेन्जबाट ३७ करोड ५४ लाख रुपैयाँ सरकारलाई लाभांश प्राप्त भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा सार्वजनिक संस्थानहरूको खुद सञ्चित नाफा ४१ प्रतिशतले बढेर ९२ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

प्रतिवेदनअनुसार अघिल्लो वर्ष यस्तो नाफा ६५ अर्ब ७५ करोड रहेको थियो । सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूलाई सेवा निवृत्त भएपछि उपदान, निवृत्तभरण, औषधि उपचार, बीमा, बिदाको रकमजस्ता विभिन्न शीर्षकहरूबाट दिइने सुविधाको कारण हरेक संस्थानको कोषमा व्यवस्था नगरिएको दायित्वको अंश आर्थिक वर्ष २०८०÷८१ मा १८ दशमलव चार प्रतिशतले बढेर ६२ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो दायित्व ५२ अर्ब ८७ करोड रुपैयाँ मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको