Like us!
Follow us!
Connect us!
Watch us!

सोलु कोरिडोर प्रसारण लाइन निर्माण अन्तिम चरणमा

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १३ : १० मा प्रकाशित

सोलु कोरिडोर प्रसारण लाइन निर्माण अन्तिम चरणमा

उदयपुरको कटारी नगरपालिका क्षेत्रमा स्थानीयवासीको माग सम्बोधन भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित स्थानीयवासीले एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा स्थानीयवासीले गर्दै आएको आन्दोलन सरोकारवाला निकायले सम्बोधन गरेपछि लामो समय रोकिएको निर्माण कार्य धमाधम भइरहेको छ । 

प्रसारणलाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारणलाइनमा जोडिन नसक्दा २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

सोलुखुम्बुको तिङ्लादेखि सिरहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारणलाइनमा पर्ने ३०२ वटा टावर निर्माण सम्पन्न भइसकेको र त्यसमा करिब पाँच किलोमिटर अर्थिङ र दुई किलोमिटर विद्युत् प्रवाह हुने तार तान्ने काम धमाधम भइरहेको छ । 

केही दिनभित्रै निर्माण सम्पन्न गरी विद्युत् प्रवाह ‘टेस्टिङ’ गरिने योजना रहेको सोलु कोरिडोर डबल सकिट प्रसरणलाइन आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए । राष्ट्रिय गौरवको सो आयोजना निर्माणले उदयपुरको कटारी नगरपालिका-४, मरुवा क्षेत्रका स्थानीयवासीले घरखेत जाने भएकाले प्रसारणलाइनको एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याउँदै आएका थिए ।

प्रशारणलाइनबाट प्रभावित हुने स्थानीयवासीले भोग चलन गरिरहेको ऐलानी जग्गाको समेत मुआब्जा रकम उपलब्ध गराउने सहमति भएपछि प्रसारणलाइन निर्माणको काम तीव्र गतिमा अघि बढेको सोलु कोरिडोर आयोजनाका प्रमुख गौतमले बताए । स्थानीयवासीको अवरोध जारीपछि सोलु कोरिडोरको आठौंपटक डिसेम्बर अन्तिम २०२१ सम्मका लागि आठौ पटक म्याद थप गरिएको सोलु कोरिडोर आयोजना प्रमुख गौतमले जानकारी दिए । निर्माणाधीन सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजनाको ३०२ वटा टावर मध्ये मरुवामा १० वटा टावर पर्दछ ।

प्रसारणलाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा.लिसँग प्राधिकरणले यो प्रसारणलाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो । सोलुखुम्बुको तिन्लामा १३२ र ३३ र ३३ र ११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । सिराहाबाट गएको ३३ केभी लाइनलाई तिङ्ला सबस्टेसनमा जोडिएको छ ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु कोरिडोर प्रसारणलाइनको निर्माण गरिएको हो । प्रसारण लाइन तयार भएपछि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेका १२ जलविद्युत आयोजनाको ३२५ मेगावाटको विद्युत राष्ट्रिय प्रणालीमा जोडिनेछ । सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजना पनि यही लाइनमा जोडिने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको