Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ मिल्ससँग जोडेर भ्रम फैलाएकोप्रति नेपाल सेयर बजार लगानीकर्ता संघ आपत्ति

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, १३ : १२ मा प्रकाशित

रिलायन्स स्पिनिङ मिल्ससँग जोडेर भ्रम फैलाएकोप्रति नेपाल सेयर बजार लगानीकर्ता संघ आपत्ति

नेपाल सेयर बजार लगानीकर्ता संघले पुँजीबजार सुधारका लागि चालेको न्यायिक कदमलाई लिएर फैलाइएका भ्रम र महासचिव रबिन कँडेलको व्यक्तिगत चरित्रमाथि लगाइएका आरोपप्रति आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ । संघका महासचिव कँडेलले जारी गरेको वक्तव्यमा धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र ऐनविपरीत गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट आम लगानीकर्ताको हक–हित संरक्षणका लागि गरिएको विशुद्ध कानुनी र संवैधानिक प्रक्रिया भएको उल्लेख गरिएको हो । 

उक्त कदमलाई लिएर ‘रिलायन्स स्पिनिङ मिल्स’ लगायतका पक्षसँग बार्गेनिङ गरिएको भन्ने आरोपहरू निराधार, कपोलकल्पित र भ्रामक रहेको संघको दाबी छ । विज्ञप्तिमा कँडेलले आफू न्यायको सर्वोच्चतामा दृढ विश्वास राख्ने व्यक्ति भएको र कुनै पनि गैरकानुनी वा अनैतिक स्वार्थका लागि सार्वजनिक भूमिकाको दुरुपयोग नगर्ने स्पष्ट पारेका छन्। ‘हाम्रो न्यायिक पहललाई व्यक्तिगत लाभसँग जोडेर फैलाइएका हल्लाहरू पूर्णतः असत्य छन्,’ उनले भनेका छन् ।

संघले न्यायिक प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले आफू र संघका प्रतिनिधिहरूमाथि धम्की, मानसिक दबाब तथा सामाजिक सञ्जालमार्फत लोभ्याउने प्रयास भएको दाबीसमेत गरेको छ। यस्ता क्रियाकलापहरू आपराधिक भएको उल्लेख गर्दै संघले त्यसको घोर भत्र्सना गरेको छ र न्यायको बाटोबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरेको छ । पारदर्शिताप्रति प्रतिबद्धता जनाउँदै महासचिव कँडेलले आफू वा संघका कुनै पनि पदाधिकारी अवाञ्छित गतिविधि वा गैरकानुनी बार्गेनिङमा संलग्न भएको ठोस प्रमाण भए नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिन सार्वजनिक रूपमा आह्वान गरेका छन् ।

साथै, यस विषयमा विशेष छानबिन र निगरानीका लागि नेपाल सरकार र नेपाल प्रहरीसँग सहकार्य गर्न संघ तयार रहेको जनाइएको छ । संघले न्यायिक प्रक्रियालाई धमिल्याउने जो–कोहीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आफ्नो संघर्ष पुँजीबजारको समग्र सुधारका लागि केन्द्रित रहेको र कुनै व्यक्तिगत स्वार्थपूर्तिसँग नजोडिएको स्पष्ट पारेको छ ।

रिलायन्सकाे यो विषयमा अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । सर्वोच्चले उच्च अदातलको फैसला सहितको मिसिल झिकाउन आदेश दिएको छ । रिलायन्सको आईपीओ राख्नका लागि परेको मुद्दमा उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको