सञ्चारमन्त्री जगदीश खरेलले देशभर चुनावी माहोल बनिसकेको बताएका छन्। एमाले पार्टी कार्यालयको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन मितिलाई लक्षित गरी सरकार सम्पूर्ण तयारीसहित अघि बढिरहेको स्पष्ट पारे।
उनले एमाले पनि चुनावको पक्षमा रहेको दाबी गर्दै भने, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ परिचालित छन्। निर्वाचनको वातावरण निर्माणको सन्दर्भमा एमालेले वातावरण बनाइदिनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्ने कुरा पार्टीका महासचिवले स्पष्ट रूपमा राख्नुभएको छ।’
सरकारको तर्फबाट आफूहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाइदिने प्रतिबद्धता व्यक्त गरेको बताए।साथै, अब मुलुक चुनावमा होमिएको पनि उनले बताए ।
उनले भने ,‘सरकारको तर्फबाट स्वतन्त्र, धाँधलीरहित ढंगबाट चुनाव गराउन सरकारले वातावरण बनाउँछ । अब मुलुक चुनावमा होमियो, चुनावमा अघि बढ्यो। कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्नेछ। नेताहरू सहज रूपमा मत माग्न बाहिर जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा छ। यी सबै वातावरण मिलाउने प्रतिबद्धता हामीले गरेका छौँ। सरकार आफ्नो अधिकार क्षेत्राधिकार, कानुन र प्रक्रियाभित्र रहेर सम्पूर्ण वातावरण मिलाउनेछ। आयोगले गरिरहेको काममा कुनै नकारात्मक असर नपर्ने गरी सरकार अघि बढ्नेछ। तर निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागहरूलाई पनि सरकारले बेवास्ता गर्न सक्दैन।’
कानुनी र प्रक्रियागत ढङ्गले जिम्मेवारीपूर्वक मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले थपे, ‘यो नागरिकको सरकार हो। मैले पहिल्यै भनेको छु यो सरकारले न त अन्याय गर्छ, न त कसैलाई अन्याय हुन दिन्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस