Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ - मन्त्री खरेल

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १३ : ०१ मा प्रकाशित

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ - मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशमा राजनीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा पोखरामा आयोजित विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा सही नेतृत्व चयन अपरिहार्य भएको उल्लेख गरे।

निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आज राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाउने विश्वास व्यक्त गरे। ‘व्यक्ति बनेर मात्रै हुँदैन, देश बन्नुपर्छ,’ भन्दै उनले विवेकशील र सक्षम नेतृत्वबाट मात्र देशको समृद्धि सम्भव हुने बताए। संघ र प्रदेशबीच अझै पनि अस्थिरता रहेको उल्लेख गर्दै उनले संघीयताको व्यावहारिक कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको धारणा राखे। स्थानीय सरकार नै राजनीतिक व्यवस्थाको आधार भएको बताउँदै मन्त्री खरेलले स्थानीय तह जवाफदेही बनेमा मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पारे। उनले पेसागत सक्रियतासँगै परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारको अनुभूति जनताले प्रत्यक्ष रूपमा गर्न पाउनुपर्ने बताए।

विज्ञापनसँग सम्बन्धित नीतिगत सुधारका लागि सरकारले सहजीकरण गर्ने उल्लेख गर्दै मन्त्री खरेलले विज्ञापनको व्यवस्थापन, अनुगमन र नियमनका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले विज्ञापन ऐनअनुसार कानुनलाई सक्रिय बनाउने दिशामा सरकार लागिरहेको जानकारी दिइन्। सबै स्थानीय तहमा पालिका हुलाक कार्यालय सञ्चालनमा ल्याइएको बताउँदै उनले त्यसलाई प्रभावकारी बनाउन स्थानीय तहको सहयोग आवश्यक रहेको भनिन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको