एक वर्षको अवधिमा करिब पौने ८ लाख करदाता थपिएका छन् । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ७३ हजार ९३३ जना नयाँ करदाता थपिएका हुन् ।
आगामी दिनमा विभागले करदाता शिक्षा,कर परीक्षणलाई आधुनिक र पारदर्शी बनाउने काम गर्दै करदाताको संख्या बढाउने बताएको छ । विभागका अधिकारीहरुका अनुसार आगामी दिनमा विभागले करदाता शिक्षा, प्रभावकारी बजार अनुगमन र ई–एसेसमेन्टरफेसलेस अडिट मार्फत कर परीक्षणलाई आधुनिक र पारदर्शी बनाउने कार्यमा जोड दिनेछ । यसका अतिरिक्त कृत्रिम बौद्धिकता (एआइ) को प्रयोग र बिजनेस प्रोसेस रि–इन्जिनियरिङमार्फत सम्पूर्ण सेवालाई पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस बनाउँदै करदाताको कर परिपालना सहज बनाईने छ ।
यसैबीच आर्थिक वर्ष २०८१/८२ मा विभागलाई ७ खर्ब १ अर्ब ५३ करोडको राजस्व संकलन लक्ष्य निर्धारण भएकोमा ५ खर्ब ८३ अर्ब ८२ करोड मात्र राजस्व असुली भई लक्ष्यको तुलनामा ८३.२२ प्रतिशतको प्रगति हासिल भएको छ । विभाग आन्तरिक राजस्व परिचालनमा प्रभावकारिता अभिवृद्धि गर्ने प्रयासरत छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत आर्थिक वृद्धिमा योगदान पु¥याउने बृहत् सोचका साथ लगानीमैत्री र समन्यायिक राजस्व नीति अघि सारेको र त्यसलाई विभागले कार्यान्वयन गरेको थियो ।
यस नीतिको मुख्य लक्ष्य राजस्व प्रणालीलाई कुल राष्ट्रिय आयसँग तादात्म्यता कायम गर्दै डिजिटल कारोबारमा कर लगाउने, अन्तर्राष्ट्रिय असल अभ्यासअनुकुल कानुन तर्जुमा गर्ने र राजस्वको आधार संरक्षण गर्ने रहेको छ । विभागका महानिर्देशक मदन दाहालका अनुसार विभागले यस नीतिको सफल कार्यान्वयनका लागि आर्थिक क्रियाकलाप विस्तार, स्वदेशी उत्पादन प्रवद्र्धन, करको दायरा विस्तार र परिपालना अभिवृद्धि, राजस्व चुहावट नियन्त्रण र प्रशासनको दक्षता सुधार जस्ता महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस