Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा सत्ता अन्योल, ट्रम्पले मादुरो पक्राउ परेको दाबी

अर्थ संसार

शनिबार, १९ पुस २०८२, १६ : ५५ मा प्रकाशित

अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा सत्ता अन्योल, ट्रम्पले मादुरो पक्राउ परेको दाबी

भेनेजुएलामा अमेरिकी सेनाले ठूलो स्तरको सैन्य कारबाही गरेको दाबी गरेपछि त्यहाँको राजनीतिक अवस्था थप अन्योलग्रस्त बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पक्राउ परेर देशबाहिर लगिएको बताएका छन्।

ट्रम्पका अनुसार उक्त सैन्य कारबाही शनिबार बिहानै गरिएको थियो, जसमा अमेरिकी सुरक्षासम्बन्धी निकायहरूको समन्वय रहेको दाबी गरिएको छ। उनले मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर सारिएको उल्लेख गरेका छन् र थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताएका छन्।

स्थानीय समयअनुसार बिहान करिब दुई बजेतिर राजधानी काराकसमा ठूलो आवाजका विस्फोट र कम उचाइमा उडिरहेका सैन्य विमानहरू देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भेनेजुएलाको सरकारले भने अमेरिकी कारबाहीलाई ‘साम्राज्यवादी आक्रमण’ को संज्ञा दिँदै नागरिक र सैन्य संरचनामाथि आक्रमण भएको आरोप लगाएको छ।

सरकारले जनतालाई सडकमा उत्रिन आह्वान गर्दै राष्ट्रिय रक्षा योजना सक्रिय गरिएको जानकारी दिएको छ। भेनेजुएलाले बाह्य आक्रमणको अवस्था घोषणा गर्दै देशव्यापी आपतकालीन स्थिति लागू गरिएको जनाएको छ।

यस घटनापछि भेनेजुएलामा हाल कसले सत्ता सम्हालिरहेको छ भन्ने विषयमा स्पष्टता छैन। भेनेजुएलाको संविधानअनुसार राष्ट्रपति अनुपस्थित भएमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी जिम्मेवारी सम्हाल्नुपर्ने व्यवस्था छ। यद्यपि उनले मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको अवस्था अज्ञात रहेको भन्दै उनीहरूको जीवनको प्रमाण माग गरेकी छन्।

रोड्रिगेजले वक्तव्य जारी गर्दै राष्ट्रपतिका विषयमा आधिकारिक जानकारी नआएसम्म स्थिति गम्भीर रहेको उल्लेख गरेकी छन्। अर्कोतर्फ, भेनेजुएलाको सरकारले अमेरिकी आक्रमणको उद्देश्य देशका तेल र खनिज स्रोत नियन्त्रणमा लिनु रहेको आरोप लगाएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानीको दक्षिणी क्षेत्रमा रहेको प्रमुख सैन्य बेस नजिक विद्युत् आपूर्ति अवरुद्ध भएको छ। यसैबीच, केही दिनअघि मात्र राष्ट्रपति मादुरोले वासिङ्टनसँग संवाद गर्न तयार रहेको संकेत दिएका थिए।

घटनाक्रमले ल्याटिन अमेरिकी क्षेत्रमा नयाँ भू–राजनीतिक तनाव सिर्जना गरेको छ भने विश्व समुदायले अवस्थालाई चासोका साथ हेरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको