प्राथमिक सेयर निष्काशन (आइपीओ) ल्याउने तयारीमा रहेको हुलास ग्रुप अन्तर्गतको हुलास आइरन इन्डष्ट्रिजले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ।
कम्पनीले सन् २०२५ मा कुल ३ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। यसअघि सन् २०२४ मा ३ अर्ब ४० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। गत आर्थिक वर्षमा कम्पनीको व्यापार १३ प्रतिशतले वृद्धि भई २.५६ प्रतिशत खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको चार महिनामा भने कम्पनीले ३.४५ प्रतिशत खुद नाफा कमाएको छ।
सन् २०१७ मा स्थापना भएको हुलास आइरन इन्डष्ट्रिज सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले विभिन्न प्रकारका पाइप तथा जस्तापात उत्पादन गर्दै आएको छ। सन् २०२२ देखि पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले वार्षिक १ लाख ५ हजार ७ सय ६५ मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीका उत्पादनहरू ‘हुलास’ ब्रान्ड नामबाट बजारमा बिक्री वितरण हुँदै आएका छन्। चन्द्रकुमार गोल्छाको ७२.९८ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ५ अर्ब ३८ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको छ। यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि १ अर्ब १ करोड ७७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ३७ करोड रुपैयाँको रेटिङ गराएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस