नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजी बजारलाई थप नयाँ उचाइमा पुर्याउनका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
एसोसिएसन अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भट्टकै कार्यकक्षमा पुगेर शिष्टाचार भेट गरी सफल कार्यकालको शुभकामना दिएको दिएको थियो । सो भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए थिए । उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकता अनुरूप पूँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले पूँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गर्दै, बजारको पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्याउने दिशामा बोर्ड सक्रियतापूर्वक अघि बढ्ने बताए ।
सो अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष ढकालले पूँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत एवम् संरचनागत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सुझाव, सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस