Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बैदेशिक ब्यापार ५८ प्रतिशतले बृद्धि

विहीबार, २३ मंसिर २०७३, १६ : २४ मा प्रकाशित

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बैदेशिक ब्यापार ५८ प्रतिशतले बृद्धि

अर्थ संसार
काठमाडौं–व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँकअनुसार आर्थिक वर्ष २०७३/७४ को पहिलो तीन महीनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.८ प्रतिशतले वृद्धि भएको छ । यस अबधिमा ब्यापार २ खर्ब ४० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.९ प्रतिशत र ९२.१ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा नेपालको कुल निकासी ९.२ प्रतिशतले  वृद्धि भई १८.९९ अर्व रुपैयँ तथा कुल पैठारीमा ६४.०  प्रतिशतले वृद्धि भई  २२१.६५ अर्व रुपैयाँ पुगेको छ । आव २०७२/७३ को प्रथम तीन महीनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः७.८ भएकोमा आव २०७३/७४ को सोही अवधिमा निकासी– पैठारी व्यापारको अनुपात १ः११.७ रहन आएको छ । 

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटीलगायत  प्रमुख छन् । 

समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ६.८ प्रतिशतले ह्रास आई  २.०७ अर्व, तयारी पोशाकको निर्यातमा १५.० प्रतिशतले ह्रास आई १.५९ अर्व रुपैयाँ भएको छ ।  यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १७.९ प्रतिशतले ह्रास आई रु. १.१० अर्व, पोलिष्टर तथा अन्य धागोमा २७.९ प्रतिशतले वृद्धि भई १.४१ अर्व रुपैयाँ, मुसुरोको दालमा ७९.१ प्रतिशतले वृद्धि भई  २७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा १७ करोडको छाला, ७४ करोडको अलैंची, ९३ करोडको चिया,  १२ करोडको अदुवा,  २२ करोडको चाऊचाऊ, १० करोडको जडिवुटी, २५ करोडको टुथपेष्ट, १.३० अर्बको टेक्सटाइल, ७७ करोडको पश्मिना सल, १५ करोडको हस्तकलाका सामानहरु २० करोड रुपैयाँको नेपाली हातेकागज निकासी भएको देखिन्छ । 

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, जापान, चीन, फ्रान्स, इटाली, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि मुलुक प्रमुुख रुपमा रहेका छन् ।

 पैठारीतर्फ आव २०७३/७४ को प्रथम तीन महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको  तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ६१.९ प्रतिशतले वृद्धि भई रु. २४.३६ अर्ब, पेट्रोलियम पदार्थमा ५५.८ प्रतिशतले वृद्धि भई  २१.५३ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा १८५.४ प्रतिशतले वृद्धि भई २५.५८ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ११९.८ प्रतिशतले वृद्धि भई  १०.८२ अर्ब, औषधीमा ६३.५ प्रतिशतले वृद्धि भई ५.४७ अर्ब, मशिनरी तथा पार्ट्समा ११३.५ प्रतिशतले वृद्धि भई   १७.०१ अर्ब, पोलिथिन ग्रेन्युल्समा ३१.६ प्रतिशतले वृद्धि भई ४.०१ अर्ब, कच्चा पाम आयलमा ७१.१ प्रतिशतले वृद्धि भई १.०३ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा ४४.५ प्रतिशतले वृद्धि भई ८.७० अर्ब, रसायनमा ४२.८ प्रतिशतले वृद्धि भई २.२४ अर्ब भएको छ ।

यसैगरी समीक्षा अवधिमा ३.६३ अर्ब बराबरको सुन, ९९ करोड बराबरको चाँदी,  २.३३ अर्ब बराबरको रासायनिक मल तथा ८९ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । साथै त्यस अवधिमा सिमेन्ट क्लिङ्कर (४.९५ अर्ब ), भटमासको कच्चातेल ( ३.०४ अर्व ), तयारी पोशाक (रु.४.३८ अर्व ), अन्न ( ७.६५ अर्व ), ऊन ( ८० करोड ) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ ।  नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, थाइलेण्ड, इण्डोनेशिया, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरेविया, जापान, युक्रेन, मलेशिया, दक्षिण कोरिया र वंगलादेश आदि प्रमुुख रुपमा रहेका छन् । 

गत आर्थिक वर्ष २०७२/७३ को प्रथम तीन महीनाको अवधिमा उत्पन्न असहज परीस्थितिका कारण आयात निर्यातमा आएको ह्रासले गर्दा व्यापार घाटा ३२.३ प्रतिशतले कमी आएता पनि चालु आर्थिक वर्ष २०७३/७४ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएको छ । तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७२.१ प्रतिशतले वृद्धि भई २०२.६६ अर्व रुपैयाँ पुगेको छ । 
 

58493eec9b490.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको