विश्व वातावरण दिवस २०२५ को अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले गएको वर्ष सुरु गरेको ‘सांग्रिला ग्रीन सेभिङ’ योजना अन्तर्गतको एक खाता खोल्दा एक रुख रोप्ने प्रतिवद्धता अनुसार नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवास्थित महालक्ष्मी मन्दिर क्षेत्र वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा सांग्रिला बैंकका सञ्चालक समितिका अध्यक्ष उज्वल सत्याल, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के तथा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र वडा अध्यक्ष पदम बहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा सञ्चालक समिति अध्यक्ष उज्वल सत्यालले वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सांग्रिलाले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपणजस्ता गतिविधि गर्दै आएको बताउँदै यस्ता अभियानले स्थानीय नागरिकमा सचेतना र सहभागिता बढाउने विश्वास व्यक्त गरे। अध्यक्ष सत्यालले “हाम्रो ग्राहकको खातासँगै अब एउटा रुख पनि हुर्किनेछ,” भन्दै पर्यावरण संरक्षणमा बैंकको प्रतिबद्धता दोहोर्याए।
त्यसैगरी, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बैंकको पहल सराहनीय रहेको उल्लेख गर्दै वातावरण संरक्षणमा साझा प्रयास आवश्यक रहेको बताए।
वर्तमानमा सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। सुशासन, जोखिम व्यवस्थापन र प्रभावकारी आन्तरिक प्रणालीमार्फत काम गर्दै आएको बैंकले आगामी दिनमा यस्ता सामाजिक र वातावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस