सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाइएको हो।
धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको जनाएको छ। उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा (९) अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहे पनि उम्मेदवारले उक्त कानुनी प्रावधान उल्लंघन गरेको उल्लेख गरिएको छ।
सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराइ यसबारे छलफल गर्न र आचारसंहिता उल्लंघन गर्दा हुने कारबाही गर्न पनि माग गरेको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनेको र उक्त समितिले अध्ययन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।
ऐनमा बालबालिकाको प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्मको जरिवाना र उम्मेदवारी दर्ता नै खारेज हुनसक्ने उल्लेख छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस