Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनाको आर्थिक स्थिति - विदेशी विनिमय सञ्चिति २२ अर्ब डलर नाघ्यो, मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित

अर्थ संसार

मंगलबार, २० माघ २०८२, ११ : ०२ मा प्रकाशित

६ महिनाको आर्थिक स्थिति - विदेशी विनिमय सञ्चिति २२ अर्ब डलर नाघ्यो, मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिना (पुस मसान्त) सम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले अधिकांश आर्थिक सूचक सकारात्मक रहेको र बाह्य क्षेत्रको अवस्था निकै सबल देखिएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ। समीक्षा अवधिसम्म कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो। यो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा चालू खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ। विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ। त्यस्तै, समीक्षा अवधिमा नेपाल सरकारको कूल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५७७ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

मौद्रिक सूचकका अनुसार विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ। ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

पूर्णपाठ-:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको