चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशत (३ खर्ब ४० अर्ब ५७ करोड) ले वृद्धि भई कुल ५८ खर्ब ३८ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.० प्रतिशत (४ खर्ब ७ अर्ब ६२ करोड) ले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा हेर्दा २०८३ जेठ मसान्तमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको देखिन्छ।
२०८३ जेठ मसान्तसम्म प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.४ प्रतिशत हिस्सा रहेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६३.० प्रतिशत र ३७.० प्रतिशत थियो।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६.३ प्रतिशत, विकास बैंकहरूको ५.६ प्रतिशत र वित्त कम्पनीहरूको ३.९ प्रतिशतले बढेको छ। धितोको आधारमा हेर्दा कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.७ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६३.६ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष जेठ मसान्तमा यस्तो धितोको अंश क्रमशः १४.५ प्रतिशत र ६५.० प्रतिशत रहेको थियो।
क्षेत्रगत रूपमा समीक्षा अवधिमा निर्माण क्षेत्रतर्फ १५.१ प्रतिशत, उपभोग्य क्षेत्रतर्फ १३.० प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फ १२.५ प्रतिशत, औद्योगिक उत्पादनतर्फ ६.८ प्रतिशत, सेवा उद्योगतर्फ ४.० प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फ ०.६ प्रतिशतले कर्जा बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले घटेको छ।
त्यसैगरी, कर्जाको प्रकृति अनुसार ट्रष्ट रिसिट (आयात) कर्जा ३६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १५.८ प्रतिशत, हायर पर्चेज कर्जा १०.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.८ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ। यसै अवधिमा क्यास क्रेडिट कर्जा ०.३ प्रतिशत र अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा ०.४ प्रतिशतले घटेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस