परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न राय दिएको छ। मन्त्रालयले १२औँ महाधिवेशनमा विधानअनुसार भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइनमार्फत मतदानको व्यवस्था गर्न संघलाई पत्रमार्फत राय दिएको हो ।
पत्रमा भनिएको छ,‘गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ र सोही विधानको दफा २१.१० मा व्यवस्था भए बमोजिम ‘निर्वाचन अनलाइन अथवा भौतिक रुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु पर्नेछ ।’
निर्वाचनमा अधिकतम प्रतिनिधि भौतिकरुपमा उपस्थित हुने व्यवस्था रहेको उल्लेख गरेको छ । ‘ उपस्थित हुन नसक्नेको हकमा विधानको व्यवस्था बमोजिम अनलाइन मार्फत सहभागी हुने गरी गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’ पत्रमा उल्लेख गरिएको छ । परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै त्यसअनुसार आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी गर्न आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस