चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँले निक्षेप बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यस्तो निक्षेप संकलन ५.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बैैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन चालु आवको पुस मसान्तसम्ममा ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गच आवको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत अर्थात् २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँले बढेको थियो । चालू आवको पुस मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको निक्षेप वार्षिक विन्दुगत आधारमा १४. ८ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार पुसमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो ।
पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत रहेको छ । २०८१ पुसमा यस्तो निक्षेपको अंश ३५.५२ प्रतिशत थियो । बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने पछिल्लो अवधिमा ३.६ अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ५.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव सात प्रतिशतले बढेको छ ।
पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको तीन दशमलव सात प्रतिशत, विकास बैंकहरूकोे २.९ प्रतिशत र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्र्जा तीन प्रतिशत, माग तथा अन्य चालू पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा भने ३.३ प्रतिशतले घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस