Like us!
Follow us!
Connect us!
Watch us!

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १४ : २१ मा प्रकाशित

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्नेमा उनले जोड दिए ।

‘समाजमा झुटो सूचनाको बिगबिगी छ । सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ’, उपाध्यक्ष पौडेलले भने, ‘झुटो भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्छ। प्रेस चौतारीलाई यसको अगुवाइ गर्न आग्रह गर्दछु ।’ विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानवहितका लागि हुनुपर्ने बताए । उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे ।

‘प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न सक्दैन’ उनले भने, ‘मानिसले विज्ञानको सहायताले आफ्नो दैनिकी सहज बनाइरहेको छ, तर आफ्नै अस्तित्व समाप्त हुने गरी प्रविधिको प्रयोग हुनु हुँदैन ।’ उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने चेतावनी दिँदै यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने बताए । उनले प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको