राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
संविधान र व्यवस्थाले राखेको यही अभिष्टलाई पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित होस् भनेरै बेलाबेलामा आवाज उठ्ने गरेको पनि उनले बताए । ‘भर्खरै युवा पुस्ताले संघर्षमार्फत आफ्नो त्यही चाहना प्रकट गरेका हुन्, भन्ने पनि हामीले नबिर्सौँ,’ राष्ट्रपति पौडेलले भने । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले भने, ‘सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै हाम्रो संविधान र लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो ।’
लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको चाहना रहेको उनले बताए । उनले अगाडि भने, ‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउन सकिँदैन । जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो ।’
लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचार छानबिनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस